काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सहरुको दरबन्दी थप गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । आज (आइतबार) १४औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अस्पतालमा विरामीहरुको अनुपातमा नर्सहरु नभएको जानकारी सरकारलाई रहेको बताएका हुन् । उनले नर्सहरुको दरबन्दी थप गर्नेबारेमा विभिन्न चरणमा छलफल चलाएको पनि बताए ।
‘नेपालको अस्पतालमा विरामीहरुको अनुपातमा नर्सहरुको दरबन्दी कायम नभएकाले नर्सहरुको कार्यभार बढिरहेको विषय सरकारलाई जानकारी छ । यो समस्या समाधानका निम्ति सरकार गम्भीर रुपले लागिरहेको छ । संगठन तथा व्यवस्थापन सर्भे गरी दरबन्दी थप गर्नेबारे नेपाल सरकारको तर्फबाट मैले विभिन्न चरणमा मैले छलफलसमेत चलाएको छु । छिटै यसको समाधानतिर अगाडि बढ्ने विश्वास पनि म तपाईँहरुलाई दिलाउन चाहन्छु,’– उनले भने ।
अर्थतन्त्रको आन्तरिक तथा बाह्य सूचकहरुमा सकारात्मक परिवर्तन भइरहेको जानकारी गराउँदै उनले निकट भविष्यमा नै नर्सहरुको दरबन्दी थप गर्ने विषयमा सफलता मिल्ने उनको भनाइ छ । लामो समयसम्म इन्टर्नमा काम गर्नुपने, पारिश्रमिक थोरैलगायतका समस्या आफूले महशुस गरेको उनले बताए । सबै अस्पतालहरुमा सरकारले तोकेका न्यूनतम पारिश्रमिक सम्बोधन गर्न लागिपरेको उनले बताए । नर्सिङ क्षेत्रका समस्या समाधान गर्न नीति कार्यक्र र बजेटमा पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । Photo By: Mukunda Kalikote/RN