Logo

कोशीमा हिक्मतले भोलि विश्वासको मत लिने, जसपाले दिँदा एसले नदिने, कांग्रेसले बहिष्कार गर्ने



काठमाडौं,३० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भोलि प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिनका लागि सचिवालयमा प्रस्ताव दर्ता गराईसकेका छन् ।

एमाले, माओवादी र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिनकै लागि भोलि बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाईएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले ११ बजेका लागि प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिन लागेपछि सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले भने भोलि विश्वासको मत नदिने भएको छ । कार्कीविरुद्ध सर्वोच्चमा मुद्दा बिचाराधीन रहेको भन्दै एसले मत नदिने र बैठकमै नजाने नीति लिएको स्रोतले जनाएको छ । यता भर्खरै सत्ताबाट च्यूत भएको कांग्रेसले पनि भोलिको बैठक बहिष्कार गर्ने तयारी गरेको छ । यसबारमो निर्णय लिन भोलि बिहान ८ बजे संसदीय दलको बैठक बोलाईएको छ ।

एमालेका उपसभामुखसहित ४० र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीको नियुक्ति प्रक्रियाका विरुद्धमा कांग्रेस सांसद तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । उक्त रिटको अन्तिम सुनुवाइका लागि अदालतले जेठ ९ गतेका लागि तोकेको छ । 

कांग्रेसले बहिष्कार गर्ने र एसले सहभागीता नजनाउने भएपनि जसपाले भने मत दिने भएको छ । जसपाका एक सांसद छन् । यता सभामुखसहित ६ सांसद रहेका राप्रपाले भने हालसम्म कुनैपनि निर्णय गरेको छैन् । विश्वासको मत दिएर सरकार बाहिरै रहनसकिने बारेमा छलफल भएपनि निणयमा नपुगेको राप्रपाले जनाएको छ ।

९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ जनाको समर्थन चाहिन्छ । हाल मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र माओवादीका १३ जना गरि ५३ सांसद्को समर्थन रहेको छ । जसपा पनि थपिँदा र राप्रपाले पनि समर्थन गरेमा यो संख्या अझ बढ्नेछ ।

मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक-एक नेतालाई मन्त्रिपरिषदमा सहभागी गराइसकेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उनको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्