काठमाडौं, ३० वैशाख । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) लाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टीका रुपमा चित्रण गरेका छन् । अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा छलफलका लागि पेश गरेको राजनीतिक प्रतिवेदनमा एमालेको वर्ग अडान स्पष्ट नरहेको र दलाल पुँजीपति वर्गसँगको लसपस रहेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले एमालेको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी अवसरवादमा डुब्दै गएको औंल्याएका छन् ।
एमालेले व्यक्तिवादलाई विचार र सङ्गठनको आधार बनाएको हुँदा यसको आन्तरिक सामूहिक जीवन तहसनहस भएको उनको निश्कर्ष छ । एमाले मुलुकको लोकतान्त्रिक प्रक्रियाका विरुद्धसमेत खडा हुने गरेको उनको टिप्पणी छ । अध्यक्ष नेपालले एमालेको विगतको व्यवहार हेर्दा आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर नलगाउने पार्टीको रुपमा चित्रण गर्न सकिने उल्लेख गरेका छन् । File Photo/RN