Logo

राप्रपाको मागः ‘जीवी राई भगाउने प्रधानमन्त्रीलाई गृहमन्त्रीले कारबाही गर्नुपर्यो’



काठमाडौं, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जीबी राईलाई भगाउने प्रधानमन्त्रीमाथि कारबाही हुनुपर्ने बताएका छन् । आज (आइतबार) सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले देशको बहालवाला गृहमन्त्रीले आरोप लगाएपछि प्रधानमन्त्रीमाथि कारबाही हुनुपर्ने बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले हिजो चितवन पुगेर सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई त्यसबेलाको सरकारले भगाएको आरोप लगाएका थिए । गृहमन्त्रीको उक्त आरोप छानविन हुनुपर्ने बताए । अब आफूहरुले संसद्मा गृहमन्त्रीले दिएको उक्त अभिव्यक्तिको जवाफ माग्ने उनको भनाइ छ ।

‘हामीले सभामुखलाई माग राखेका छौं, यदि साच्चै देशको प्रधानमन्त्रीले जीबी राईलाई भगाएको हो भने, गृहमन्त्रीले भनेको कुरा त हामीले विश्वास मान्न पर्यो नि । गृहमन्त्रीलाई हामी आग्रह गर्न चाहन्छौं, अनुरोध गर्न चाहन्छौं र सभामुखलाई पनि अनुरोध गर्न चाहन्छौं, अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ । गृहमन्त्रीले पक्राउ पुर्जी जारी गर्नुपर्छ । होईन भने यो के हो गृहमन्त्रीसँग यसको जवाफ राप्रपाले अब संसद्मा माग्नेछ,’– शाहीले भने ।

साथै, उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि बहालवाला गृहमन्त्रीले नै आरोप लगाएको भन्दै अब प्रधानमन्त्रीबाट राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्ने बताए । ‘प्रधानमन्त्रीलाई भन्न चाहन्छौं, तपाईले राजीनामा दिएर बाटो प्रशस्त गर्नुस् । किनभने अब तपाईँलाई छानविनमा ल्याउनुपर्छ । जीवी राईलाई भगाउने प्रधानमन्त्रीलाई गृहमन्त्रीले कारबाही गर्नुपर्यो,’– उनले भने । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्