Logo

निर्धारित समयभन्दा २ घण्टा ढिलोगरि प्रदेश सभा बैठक सुरू, हिक्मतले मागे विश्वासको मत (लाईभ)



काठमाडौं,३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत मागेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका थिए। निर्धारित समयभन्दा २ घण्टा ढिलोगरि भर्खरै सुरु भएको प्रदेश सभाको बैठकमा कार्कीले विश्वासको मत मागेका हुन् ।

हिजो बसेको प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने र त्यसलाई निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको थियो ।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई नेकपा एमालेका ३९, नेकपा माओवादी केन्द्रका १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमत पाउन ४७ सदस्यको समर्थन चाहिन्छ ।



प्रतिक्रिया दिनुहोस्