काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशशरण महतले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म आफूहरु पछि नहट्ने बताएका छन् ।
आज (सोमबार) कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरुको बटमलाइन नै सहकारी ठगी प्रकरणमा छानविन समिति बन्नुपर्ने रहेको बताए । उनले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयलाई गम्भीरताको साथ लिनुपर्ने बताए । उनले संसद्मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने संक्रेत गरे ।
‘अस्तिदेखि हामीले जे राख्दै आएका थियौं, आजको कुरा पनि त्यही हो । संसदीय छानविन समिति बन्नुपर्छ भन्ने हाम्रो बटमलाईन हो ।’ उनले भने, ‘राष्ट्रपतिज्यूमार्फत सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुँदैछ भने यसलाई सरकारले कति गम्भीरताको साथ लिएको छ ? विपक्षीले जायज माग राखेको छ,’– उनले भने ।
त्यस्तै, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पनि आफूहरु मागबाट पछि नहट्ने बताए । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषय सरकारले जान्ने विषय रहेको भन्दै उनले संसदीय समिति नबनेसम्म आफूहरु निरन्तर प्रतिवादमा रहने बताए । ‘सहकारीका ठगलाई कारबाही नगर्दासम्म हामी पछाडि हट्दैनौँ । नीति तथा कार्यक्रमका विषयमा सरकारले जान्ने कुरा हो,’– उनले भने ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।