काठमाडौं,३१ वैशाख । नेपाली कांग्रेस कोशी प्रदेश सभा संसदीय दलको बैठक जारी छ । जारी बैठकमा विश्वासको मत लिन लागेका मुख्यमन्त्री हिक्मत कार्कीलाई मत दिने नदिनेबारेमा निर्णय लिनेछ ।
जारी संसदीय दलको बैठकमा कार्कीलाई विश्वासको मत दिनुपर्ने आवाज उठेको छ । संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापालगायतका नेताहरुले कार्कीलाई विश्वासको मत दिनुपर्ने पक्षमा उभिएका छन् भने निवर्तमा मुख्यमन्त्री केदार कार्की बैठकनै बहिष्कार गर्नुपर्ने पक्षमा छन् ।
सर्वोच्च अदालतमा कोशी सरकार गठनको विषय विचाराधीन रहेको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गर्न निर्देशन दिएपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन ।
प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सन्देश लिएर संसदीय दलको बैठकमा उपस्थित भएका छन् । कोशी प्रदेशसभा बैठक सोमबार ११ बजेका लागि बोलाइएको थियो । तर, अहिलेसम्म बैठक सुरु हुन सकेको छैन ।
यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई नेकपा एमालेका ३९, नेकपा माओवादी केन्द्रका १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।
आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमत पाउन ४७ सदस्यको समर्थन चाहिन्छ ।