Logo

‘प्रदेश सभा विघटन हुन नदिन सरकार गठन गर्‍यौं, सर्वोच्चको निर्णयलाई स-सम्मान स्वीकार गर्छौं’



काठमाडौं,३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभा विघटन हुन नदिन नयाँ सरकार गठन गरिएको दाबी गरेका छन् ।

आज बसेको प्रदेश सभाको बैठकमा आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्दै विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले राष्ट्रिय राजनीतिमा रहेको तत्कालीन शक्ति सन्तुलनलाई परिवर्तन गर्दै नयाँ शक्ति सन्तुलन बनेपछि त्यहिअनुरुप प्रदेश सरकारहरु पनि परिवर्तन भएको बताए ।

‘अरु प्रदेश भन्दा ढिलो गरि हाम्रो प्रदेशमा पनि सरकार परिवर्तनको अभ्यास थाल्यौं । संविधान र कानूनलाई टेकेर हामीले गरेको सरकार परिवर्तनको अभ्यासस्वरुप बैशाख २७ गते नयाँ सरकार बनेको छ । त्यो सरकारको नेतृत्व गर्ने अवसर मैले पाएँ’ उनले भने । कार्कीले‌ आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री भएको बताए । ‘प्रदेशप्रति युवामा भएको धारणा परिवर्तन गर्न तथा सुदृढ प्रदेश बनाउन केन्द्रित हुनेछु’ उनले भने ।

सुखी प्रदेश बनाउन आफू लागि पर्ने उनले बताए ।‌ कम्युनिष्ट दलबीचको सहकार्य निरन्तर अघि बढाएर मुलुक हितका लागि भएको कार्कीले दाबी गरे । आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको उनको भनाइ छ ।

विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा विचराधीन रहेको मुद्दाको फैसलालाई सबैले मान्ने बताए । उनले एमाले संविधान मान्ने पार्टी रहेको बताउदै जनताको विश्वास टुट्न नदिने बताए ।

‘हामी सबैलाई थाहा छ । हामी कानुनी राजको पक्षमा छौँ । सर्वोच्च अदालतबाट के निर्णय आउँछ त्यो विषयमा हामी हुबहु मान्छौँ,’ कार्कीले विश्वासको मत माग्दै भने, ‘हामी संसदीय व्यवस्थामा छौँ । यो मान्दिनँ चिन्दिनँ भन्ने पक्षमा हामी छैनौँ ।’

कार्कीको नेतृत्वमा गठन भएको सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको सो रिटविरुद्ध जेठ ९ गते सर्वोच्चको पूर्ण इजलासले टुंगो लगाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्