Logo

बहुमतलाई अल्पमतले शासन गर्छु भन्ने केदारजीको परिकल्पना संसदीय व्यवस्थाको उपहास हो: इन्द्र आङ्बो



काठमाडौं । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अल्पमतमा परेर मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएर र राजीनामा पनि नदिएर संसदीय व्यवस्थाको उपहास गरेको टिप्पणी गरेका छन् ।

केदारलाई विस्थापित गरेर मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि राखेको प्रस्तावलाई समर्थन गर्दै आफ्नो दलको तर्फबाट बोलेका आङ्बोले सर्वोच्च अदालतले समेत अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको अवस्थामा कांग्रेसले प्रदेश सभाको बैठक बहिष्कार गर्नु जायज नभएको जिकिर गरे । उनले कांग्रेसको आजको कदमले उसले अंगिकार गर्दै आएको निष्ठाको लोकतन्त्रमाथि प्रश्न उठेको दाबी गरे ।

‘अदालतले दिएको फैसलालाई हामीले मान्नुपर्छ । अदालतमा जाने कुरालाई हामीले अन्यथा मानेका छैनौँ,’ आङ्बोले भने, ‘तर, अदालतले कारण देखाऊ आदेशमा सरकारले गर्ने नियमित काम र संसद्ले गर्ने काममा अवरोध गरेको छैन । त्यसो हुँदा संसद्‌मा सहभागी नहुनु, विश्वासको मत लिने कुरामा संसद्‌मा नआउनु भनेको दुःखद कुरा पनि हो ।’

नयाँ सरकार बनाउने कुरा प्रदेशसभा र सांसदको जिम्मामा रहेको बताउँदै उनले अदालतमा परेको मुद्दाको फैसलालाई आफूले मान्ने जानकारी दिए ।

‘बहुमतले सरकार चलाउने र अल्पमतमा रहेकाले सरकारलाई खबरदारी गरेर प्रतिपक्षीमा बस्ने हो । सरकार अल्पमतमा परिसकेपछि स्वतः कि विश्वासको मत लिनुपर्छ कि राजीनामा दिनुपर्छ । अर्को पनि छ प्रावधान राजीनामा गर्न पनि जाँगर चलेन र विश्वासको मत प्राप्त हुने आधार पनि रहेन भने नयाँ सरकार गठनको प्रकृया सुरु हुन्छ’ उनले भने । हाम्रो संविधानले नै गरेको व्यवस्था यही हो । यो सबै उपधारा अनुसार लागू हुने हो । हामीले मुख्यमन्त्रीजीलाई त्यही भनेका थियौं’ । तर केदारजी अल्पमतमा पर्दापर्दै पनि बहुमतलाई शासन गर्नेतर्फ लम्किनु भयो । बहुमतलाई अल्पमतको मुख्यमन्त्रीले शासन गर्छु भन्नु संसदीय व्यवस्थाको उपहास हो’ ।

उनले सरकार बनाउने र गिराउने अधिकार सांसदमा निहित हुने बताए । हाल बनेको नयाँ सरकार सोही अनुरुप बनेको उनको भनाई छ । वैकल्पिक सरकार बनेसम्म प्रदेश सभा विघटन गर्न नपाईने । सांसदहरुले सरकार बनाउन सक्ने संवैधानिक व्याख्या भएको हुँदा नयाँ सरकार बनेको बताए ।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई नेकपा एमालेका ३९, नेकपा माओवादी केन्द्रका १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमत पाउन ४७ सदस्यको समर्थन चाहिन्छ ।



प्रतिक्रिया दिनुहोस्