Logo

३० दिनभित्र व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश



काठमाडौं,२ जेठ । स्थानीय तहको निर्वाचन सम्पनन भएको करिब २ वर्षपछि उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश दिएको छ ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले दायर गरेको रिटको सुनुवाइ गर्दै मंगलबार अदालतले पुनः मतगणना गर्नुपर्ने फैसला सुनाएको हो । न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेलको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो ।

उक्त निर्वाचनमा जोशी नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेसँग पराजित भएका थिए । त्यसपछि उनले अदालतमा रिट दायर गरेका थिए ।

अदालतले निवेदकको दाबी पुग्ने भन्दै पक्षमा अन्तिम फैसला गरेको छ । मतगणनामा धाँधली भएको दाबीसहित जोशीले २०७९ साल १२ जेठमा हालेको रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहुँ, निर्वाचन आयोग र निर्वाचित नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई विपक्षी बनाएका थिए ।

निवेदक जोशीले कतिपय मतदान केन्द्रमा घोषणा गरिएको भन्दा बढी मतगणना भएको र कतिपयमा घोषित मत नपुगेको दाबी गर्दै पुनः मतगणना माग गरेका थिए । मेयरमा विजयी कांग्रेसका वैकुण्ठ न्यौपानेले जोशीलाई २५२ मत अन्तरले हराएका थिए । न्यौपानेले १२ हजार ७८ मत पाएर जित्दा जोशी ११ हजार ८२६ मत पाएका थिए ।

कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले एमालेको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । कैँची चुनाव चिह्न लिएर चुनाव लडेकाे जाेशी समूह र एमालेबीच तालमेल भए पनि सफल हुन सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot