Logo

संसद्मा गगनले उदण्डता प्रदर्शन गरेको ओलीको ठहर, रविलाई बोल्न नदिए भोलिबाट कांग्रेसलाई रोकेर एमालेले बोल्ने



काठमाडौं,२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीको प्रकरण उचालेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा उदण्डता प्रदर्शन गरेको आरोप लगाएका छन् ।

आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सभामुखले भनेको नमानी कांग्रेसदे संसद्मा उदण्डता प्रदर्शन गरेको आरोप लगाएका हुन् ।

‘सभामुखले फलानालाई बोल्न समय दिन्छु भन्दा बोल्न दिन नपाइने, यति अशिष्ट ढंगले तपाईंको निगाहाको समय चाहिँदैन भनेर उदण्डता प्रदर्शन गर्ने ? संसद्मा सभामुखसँग के भाषा हो त्यो नेपाली कांग्रेसको ?’ गगनको नामै नलिइ ओलीले भने, ‘सभामुखसँग त्यस्तो भाषा गरेर संसद् चलाउन खोजेको हो कांग्रेसले ?’

बजेट अधिवेशनको शुरूको दिन सभामुख देवराज घिमिरेले कांग्रेस महामन्त्री गगन थापालाई बोल्नका लागि ३ मिनेटको समय दिएका थिए । सो समय सकिएपछि सभामुखले २ मिनेट थप गरे । त्यसक्रममा गगनले ‘तपाईंको निगाहाको समय चाहिँदेन, मेरो हकको समय मागेको हो’ भनेका थिए ।

संसदीय दलको बैठकमा ओलीले भोलिको प्रतिनिधि सभा बैठकमा रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने बताए । उनले भोलि रविले बोल्न नपाए कांग्रेसलाई रोकेर एमालेले बोल्ने तर, कांग्रेसको उदण्डता हेरेर नबस्ने प्रष्ट पारे ।

‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्‍यो, होइन भने हामी बोल्छौं,’ ओलीले भने, ‘कांग्रेस आरोपित गरिरहने ? बकवास बोलिरहने ? अर्काले प्रतिवाद गर्न नपाउने, यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास हुन्छ।’



प्रतिक्रिया दिनुहोस्