काठमाडौं, २ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारको नीति तथा कार्यक्रममा खोट लागउने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले सरकारको नीति तथा कार्यक्रम र संसद्को गतिरोध अन्त्यका विषयमा दलका नेताहरुसँग धारणा लिन आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रममा राम्रा र निकै महत्वपूर्ण कुराहरु समेटिएको बताएका हुन् ।
नेता तामाङले नीति तथा कार्यक्रमले सबै जिल्लाहरुलाई सडक सञ्जालमा जोड्नेदेखि उत्पादन, कृषि, सुशासनलगायतको विषयलाई नीति तथा कार्यक्रमले बोकेको बताए । नीति तथा कार्यक्रममा घरेलु कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने, उत्पादन गर्ने, अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने कुरा समेटिइएको भन्दै उनले यसले रोजगारी बृद्धि गर्ने विश्वास व्यक्त गरे । अहिले कोदोको रक्सीलाई बजारमा बेच्न नदिने, पोखिदिनेलगायतका समस्या रहेको स्मरण गराउँदै उनले मर्चा हालेर बनाएको शुद्ध कोदोको रक्सी कसैले पोख्न वा घोप्ट्याउन खोजेमा नीति तथा कार्यक्रम पढेर सुनाइदिन र खबरदारी गर्नसमेत उनले आग्रह गरे ।
‘नेपाली दिदीबहिनी, आमाहरुले रक्सी बनाएर बजारमा बेच्ने गरेको छ भने त्यसलाई दुषित नबनाउनु होला । त्यसमा अरु कुनै रासायनिक प्रयोग नगर्नुहोला, मर्चा प्रयोग गरेकै कोदोको बनाउनुहोला ।’ उनले भने, ‘त्यसरी बनाएको रक्सीलाई यदि कहीँकतै पोखेको देखियो भने, पोख्न कोही आयो भने हिजो घोषणा गरेको नीति तथा कार्यक्रमको बुँदा पढ्दिनुस्, खबरदारी गर्नुस् । त्यो गर्नुपर्दछ । हाम्रो उत्पादनलाई पोख्ने अधिकार कसैलाई छैन । कोदोको रक्सीको अर्को बाइप्रडक्ट कट खुवाएर बंगुर पालन हुनसक्छ । नेपालले रहेका दिन डेढ लाखसम्म बंगुर हामी चाइना पठाउन सक्छौं । वार्षिक १०/१२ खर्बको बंगुरको मासु हामी चाइना पठाउन सक्छौं ।’