Logo

सन्दीपको निलम्बन फुकुवाबारे निर्णय लिन क्यानको बैठक बस्दै



काठमाडौं,२ जेठ । उच्च अदालत पाटनबाट सफाई पाएसँगै निलम्बन फुकुवाबारे निर्णय लिन नेपाल क्रिकेट संघ (क्यान)को बैठक बस्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले बलात्का मुद्दामा आज उच्च अदालत पाटनबाट सफाइ पाएका थिए ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

यसअघि सन्दीप जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरिराज ढकालको एकल इजलासले सन्दीपलाई ८ वर्षको कैद सजाय सुनाएको थियो । सो फैसलाविरुद्ध सन्दीप उच्च अदालत पुगेका थिए ।

काठमाडौं जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ता झिकाएर गौशाला २६ बालिग रहेको ठहर गरेको थियो । तर, सन्दीपले गौशाला २६ को कमजोर आर्थिक अवस्थाको ‘नाजायज फाइदा’ उठाएको जिल्ला अदालतको निष्कर्ष थियो ।

जिल्ला अदालतबाट दोषी ठहर भएपछि सन्दीप क्यानबाट अलग्गिएका थिए । अब क्यानले बैठक बसेर निलम्बन फुकुवा गर्नेबारे निर्णय लिनेछ । क्यानको पदाधिकारी बैठक आजै बस्ने एक सदस्यले जानकारी दिए ।  संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने बताएको हो ।

नेपाली क्रिकेट टिम अहिले विश्वकप खेल्न अमेरिका पुगिसकेको छ । लामिछाने टिमको बिदाइमा पनि सहभागी भएका थिए । अब उनले नेपाली टिमको प्रमुख खेलाडीका रुपमा टिममा सहभागिता जनाउनेछन् । 

विश्वकपका लागि रोहितकुमार पौडेलकाे कप्तानीमा रहेकाे १५ सदस्यीय नेपाली टोली अहिले अमेरिका पुगिसकेकाे छ । टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।



प्रतिक्रिया दिनुहोस्