Logo

निलम्बन फुकुवासँगै विश्वकप खेल्ने टोलीमा फर्किए सन्दीप, टिमबाट बाहिरिने कमल कि सागर ?



काठमाडौं,२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछाने बलात्कार मुद्दामा निर्दोष ठहर भएपछि विश्वकप खेल्ने टिममा समावेश भएका छन् । उनलाई क्यानले निलम्बन फुकुवा गर्दै टिटमा फर्काएको हो ।

सन्दीप आज बलात्कार मुद्दामा निर्दोष ठहर भएका थिए । मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो ।

१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध ८ वर्ष जेल सजाय, पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका थिए । उच्चले सन्दीपको पक्षमा फैसला गरेको हो ।

आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदै गरेको आईसीसी टी–२० विश्वकप क्रिकेटको टोलीमा समावेश गर्नेबारे क्यानले बोर्डको बैठक राखेर निर्णय गर्ने तयारी गरेको हो ।

विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली अहिले अमेरिका पुगिसकेको छ । टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।

सन्दीपले यिनैमध्येबाट कसैलाई प्रतिस्थापन गर्नुपर्नेछ । सन्दीप विशेषज्ञ र पहिलो रोजाइका स्पीनर भएकाले उनले कुनै स्पीनरलाई नै प्रतिस्थापन गर्नेछन् । यसरी हेर्दा सागर ढकाल टिमबाट बाहिरिने सम्भावना देखिन्छ । किनकी ललित राजवंशी लेफ्टआर्म स्पीनर मात्र होइनन्, सन्दीपछिका सबैभन्दा अनुभवी खेलाडी पनि हुन् । त्यसैले उनी टिममा रहने पक्का जस्तै छ ।

तर, कुनै फास्ट बलरलाई नै हटाएर सन्दीपलाई समावेश गर्न खोजिए प्रतिश जिसी, कमलसिंह ऐरी र अभिनाष बोहरामध्ये कोही बाहिरिनेछन् । कमल नेपाली टिममा लामो समयपछि पुर्नरागमन गरेका खेलाडी हुन् भने सागर पछिल्ला दिनमा लयमा रहेका स्पिनर हुन् ।

मूख्य प्रशिक्षक मोन्टि देशाई र कप्तान रोहिककुकमार पौडेलको निर्णय अन्त्मि हुने भएकाले अहिलेनै टिमबाट को बाहिरिने हो त्यो प्रष्ट त छैन् तर, सागर र कमलमध्ये एक जना बाहिरिने पक्कापक्की नै छ ।



प्रतिक्रिया दिनुहोस्