काठमाडौं,३ जेठ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछानेलाई राजनीतिक दलका नेताहरुले बधाई दिन सुरु गरेका छन् ।
उच्च अदालतबाट सफाइ पाउने फैसला भएलगत्तै सत्तारुढ दुई दल नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले सन्दीपलाई बधाई दिएका हुन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले फैसलालगत्तै सन्दीपले न्याय पाएको उल्लेख गरेका छन् ।
‘क्रिकेटर सन्दीप लामिछानेले न्याय पाएकोमा बधाई, न्यायालयलाई धन्यवाद। नेपाली क्रिकेटले नयाँ उचाई हासिल गर्नेछ’ उनले भनेका छन् ।
त्यस्तै पूर्व मन्त्रीसमेत रहेका एमाले नेता बस्नेतले पनि सन्दीपले न्याय पाएको बताएका छन् । ‘काठमाडौँ जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै उच्च अदालत पाटन न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीप लामिछानेलाई सफाइ दिएकोछ । उनलाई न्याय दिएकोमा फैसलाको उच्च सम्मन गर्दै संन्दीप जीको खेल जीवनको सफलताको कामना गर्दछु’ बस्नेतले भनेका छन् ।
यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर्याएको थियो । सो फैसलाउपर पुनरावेदन गएका सन्दीपलाई बुधबार उच्च अदालतका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सफाई दिएको थियो ।