काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले स्वर्गीय जननेता मदन भण्डारीको हत्या नै भएको दाबी गरेका छन् । आज (बिहीबार) मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवसको अवसरमा नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मदन भण्डारी र जीवराज आश्रित चढेको जिप नियोजित रुपमा खसालिएको बताएका हुन् ।
आफू सो दिन मदन र जीवराजसँगै खैरेनीसम्म गएको उनले बताए । ‘म आधाबाटोको साक्षी नै हो । खैरेनीसम्म म सँगै थिएँ । उहाँहरु नारायणघाटतिर जानुभयो । म गोर्खातिर लागेँ,’– उनले भने ।
सो दिन मदनका ड्राइभर अमर लामाको हाउभाउ अस्वभविक रहेको भएपनि सुरक्षाबारे सोच्न नसक्दा दुर्घटना भएको बताए । सो दिन अमर आधा घण्टासम्म बाटोमा हराएको र उसको उसले बाटोमा केहीसँग पनि कुनै संवाद नगरेको नेता कट्टेलले स्मरण गरे ।
साथै, मदनको अनन्य मित्र प्रधानमन्त्री र आफ्नै श्रीमती राष्ट्रपति हुँदासम्म एमालेले सत्यतथ्य बाहिर ल्याउन नचाहेको उनको भनाइ छ । उनले एमालेले लाशको राजनीति गरेको र अहिलेसम्म मदनलाई नै भजाएर खाएको आरोप लगाए । एमालेका लागि मदन विकाउ माल बनेको उनको टिप्पणी छ ।
‘एमाले भनेको लाशको राजनीति गर्ने पार्टी हो । उसलाई मदनको लाशबाट राजनीति गर्नुछ । मदन भजाएर खाएको छ । मदनलाई उचालेको छ, कथित बहुदलीय जनवाद भनेको छ । मदनको हत्या गरे भनेको छ । तथ्यहरु सार्वजनिक भएपछि त त्यसबाट खान पाइँदैन नि त,’– उनले भने ।