Logo

प्रतिनिधि सभा बैठक सुरु, सत्ता र प्रतिपक्ष आजपनि आमनेसामने (लाईभ)



काठमाडौं, जेठ ३ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकका लागि ९ वटा सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै, प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।

त्यस्तै, बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा उद्योग मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद् अवरोध गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारेका थिए। प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग छलफल गरेका छन्।



प्रतिक्रिया दिनुहोस्