काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतका सभापति रामहरि खतिवडाले गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा न्यायलयको फैसलालाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आत्तिएको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब कांग्रेसले सदनमा सहकारी र बैंक ठगीमात्रै नभएर नीतिगत भ्रष्टाचारको पनि आवाज उठाउने बताए ।
साथै, एमाले अध्यक्ष ओलीले गिरीबन्धु टि स्टेट जग्गा प्रकरण कांग्रेस नेतृत्वको सरकारको पालामा भएको भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारमा आफू भएको बेला छानविन गर्न चूनौति दिए । उनले सर्वोच्च अदालतले बालुवाटार त छावामात्रै रहेछ, हात्ती झापातिरै रहेको भनी फैसला गरेको भन्दै कटाक्ष गरे ।
‘सर्वोच्च अदालतका पाँच जना न्यायाधीश बसेर यो बदमासी भएको छ । बालुवाटार त छावामात्रै हो, हात्ती त झापातिरै रहेछ भनेर फैसला नै गर्यो । बदमासी गर्नेले ठूला कुरा गर्ने ?’ प्रश्न गर्दै उनले भने, ‘कांग्रेसको बदमासी छ भने कारबाही भोग्न तयार छौं । तर, आफू गल्ती गर्ने, दोष अरुलाई लगाउने प्रवृत्तिको हामी विरुद्धमा छौं ।’
खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीमात्रै नभएर अब बैंक ठगीको पनि मुद्दा आइसकेको बताए । उनले गृहमन्त्री लामिछानेविरुद्ध बैंकले पनि ठगीको मुद्दा हालेको बताए । ‘सहकारी ठगीको मात्रै कुरा छैन, अब त बैंक ठगीको पनि कुरा आइसक्यो ।’ उनले भने, ‘बैंकले पनि मुद्दा हालिसक्यो गृहमन्त्रीले हिजो चलाएको कार्यक्रमलाई । नीतिगत भ्रष्टाचार भएको कुराहरुले महत्व पाएको छ । यो बेलामा हामीले केही भनेको छैनौं ।’