Logo

सञ्चारकर्मीहरुलाई माधव नेपालको आग्रहः ‘एकीकृत समाजवादी फुट्ने सूचना छन् भने दिनुस्’



काठमाडौं, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टी एकढिक्का रहेको बताएका छन् । आज (बिहीबार) पार्टी कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी विभाजनको हल्ला आइरहेको र कसैलाई ढुक्कले विश्वास गरेर छाड्न नसकिने भन्दै तथ्य र सूचना दिन भनेको हुन् ।

‘तपाईँहरुले नेकपा (एकीकृत समाजवादी) विभाजन हुँदै छ कि भनेर सुनाउनु भयो । यो सुनाइसकेपछि तपाईँहरुलाई पक्कै सबै सूचनाहरु प्राप्त भएका छन् होला । त्यो छ भने कृपया हामीलाई सहयोग गर्नुस् । सूचनाहरु, तथ्यहरु हामीलाई उपलब्ध गराउनुस् । कुनै पनि कुरालाई यत्तिकै हल्ला हो भनेर भन्न पनि सकिँदैन । त्यत्तिकै कसैलाई विश्वास गरेर छोड्न पनि भन्न सकिँदैन । हामी आँखा चिम्लिएर विश्वास पनि गर्दैनौं । हुँदै होईन भनेर अस्वीकार पनि गर्दैनौं,’– उनले भने ।

साथै, एकीकृत समाजवादी विभाजन गर्न सहज नरहेको उनको भनाइ छ । उनले कसैले कुभलो चिताएको छ भने नचिताउन पनि आग्रह गरे । दल विभाजन हुँदैछ भन्ने समाचारहरु आएपछि आफू आत्तिएको पनि उनले सुनाए । त्यसपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका आफ्ना सांसदहरुको संयुक्त बैठक राखेर धारणा बुझेको पनि उनले बताए । अध्यक्ष नेपालले बैठकमा कसैले पनि असन्तुष्टि व्यक्त नगरेको र सबै जना एकताबद्ध भएर अगाडि बढ्न तयार रहेको बताए ।

‘तपाईँहरुले नै बाहिर समाचार ल्याएको हुनाले हामी आत्तियौं । आत्तिएर संसदीय दलको बैठक बस्यौं । समाचार सही हो कि गलत हो थाहा छैन, तपाईँहरुले हामीलाई अत्याउनु हुँदोरहेछ ।’ उनले भने, ‘प्रतिनिधि सभामा रहेको १० जना सदस्यहरु, राष्ट्रिय सभामा रहेका ८ जना सदस्यहरुको उपस्थिति थियो । हामीले १८ जनाकै बीचमा छलफल गर्यौं । एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भनेर हामीले त्यहाँ निर्णय पनि गर्यौं ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्