Logo

भौतिक ताकेकी रमालाई मन्त्री नियुक्त भएको ४४ दिनपछि खेलकुद मन्त्रालयको जिम्मा



काठमाडौं,३ जेठ । १९ चैत ०८० बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिने दिन ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान भयो । सत्ता साझेदार दलहरु परिवर्तन भएर केन्द्रको राजनीति उलटफेर आएपछि जम्कट्टेल अल्पमतमा परेका थिए । सत्ता सहयात्री दलहरु सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका जम्कट्टेलेल ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो ।

सत्तारुढ दल कांग्रेस सरकारबाट बाहिरिने र राप्रपाले कुनैपनि गठबन्धनमा नजाने भनेपछि मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा अन्यौलता थियो । तर, १७ चैतमा २ सिटसहित निर्णायक रहेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य सरकारमा सामेल भएपछि जम्कट्टेलले विश्वासको मत पाउने आधार बनेको थियो ।

विश्वासको मत पाउने आधार बनेपछि प्रदेश सभा बैठक सूचारु हुनै लागेको थियो । तर सत्तारुढ दल नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर हराईन् । काठमाडौं क्षेत्र नम्बर १० को ख बाट प्रत्यक्ष निर्वाचित सांसद आले एकाएक बेपत्ता भईन् भने हानेपाकी सांसद सरिता खड्गी सुत्केरी बिदामा बसिन् । खड्गी बिदामा बस्ने र आले हेटौंडा छाडेर काठमाडौं हानिएपछि जम्कट्टेल तनावमा परे ।

आले उपस्थित नहुँदा विश्वासको मत नपाउने निश्चित देखेपछि केन्द्रका नेताहरुसँग समन्वय गरेर आलेलाई हेटौंडा फर्काउन जम्कट्टेल तयार भए । बदलामा आलेलाई मन्त्री बनाउने सर्तमा । त्यसअघिनै एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल र राजेन्द्रमान श्रेष्ठ मन्त्री थिए ।

मन्त्री बन्ने निश्चित भएपछि आले हेटौंडा गईन् । उनले पनि मत दिएपछि जम्कट्टेलले विश्वासको मत पाए । । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमत पुर्‍याउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । विश्वासको मत दिन प्रदेशसभा बैठकमै नआएकी मगरलाई मन्त्री नियुक्त गरेर उनले फकाएका थिए । मगरकै कारण ४ घण्टा ढिलो गरी बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले ५६ सांसदको विश्वासको मत पाएका थिए ।

विश्वासको मत पाएको १० मिनेटमै सर्तबमोजिम आलेलाई मन्त्री नियुक्त गरे । उनले सोही दिन बिना बिभागीय मन्त्रीको शपथ लिईन् । आले मन्त्री नियुक्त भएको २ दिनमा जम्कट्टेलले एमालेका ५ जनालाई मन्त्री नियुक्त गरे । १२ मन्त्रालय रहेको बागमतीमा १३ जना मन्त्री भएपछि आलेले लामो समयसम्म जिम्मेवारी पाउन सकिनन् ।

४४ दिनसम्म मन्त्रालय नपाएर छटपटिएकी आलेले अन्तत मन्त्रालय पाएकी छन् । युवा तथा खेलकुद । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालय नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले सम्हाल्दै आएकी छन् । गत १९ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएकी नेकपा एकीकृत समाजवादीकी रमा आले मगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

तर, आलेले भने भौतिक तथा पूर्वाधार मन्त्रालय माग गर्दै आएकी थिईन् । उनले भौतिक बाहेक अन्य मन्त्रालयमा नजाने अडान लिँदै आएकी थिईन् ।

। रमा एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद रहेकी उनी एक वर्षअघि चैतमै भएको सरकार विस्तारको क्रममा शपथको निम्तो पाएर पनि खाली हात काठमाडौं फर्कनु परेको थियो ।

२५ पुस २०७९ मा बागमतीको मुख्यमन्त्री नियुक्त शालिकराम जम्कट्टेलले डेढ वर्षको अवधिमा २१ जनालाई मन्त्री बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्