Logo

चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड, विफल बनाउने रणनीतिमा देउवा



काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाल कम्युनिष्ट पार्टी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी लगायत दलको समर्थन छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा त्यसलाई विफल बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लागिपरेको छ ।

कांग्रेसले आज विपक्षी दलको बैठक बोलाएको छ । कांग्रेससहित राप्रपा, जनमत, लोसपा र जनमोर्चासहितका दलहरु विपक्षीमा छन् । उनीहरुले संयुक्त बैठक बसेर सरकारविरुद्ध रणनीति बनाउनेछन् ।

कांग्रेस संसदीय दलको बैठक अहिले जारी छ । कांग्रेसले संसदीय दलको बैठकबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गरिने नेताहरूले बताएका छन् । आजै बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।

सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठनको माग गरिरहेको छ । सत्तापक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ । सोही कारण संसद् बैठकमा तनाव उत्पन्न भएको हो । 



प्रतिक्रिया दिनुहोस्

Screenshot