Logo

एकअर्काविरुद्ध रणनीति बनाउँदै दुवै पक्ष, सिंहदरबारमा प्रचण्ड-ओली र रवि जुट्दा बानेश्वरमा विपक्षी मोर्चाका नेताहरु भेला हुँदै



काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेबीच छलफल जारी छ । सिंहदरबारमा यी तीन नेताबीच १ घण्टादेखि छलफल जारी रहेको छ ।

सिंहदरबारमा जारी भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदको हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनको लागि कांग्रेसका नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मोटामोटी सहमति भैसकेको थियो । तर, अन्तिममा त्यो सहमति भाँडिएको छ । हिजो ९बिहीबार० को प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री दाहालले सदनको अवरोध हटाउनको लागि कांग्रेसको मागबमोजिम संसदीय छानबिन समिति बनाउने तयारी गरेका थिए ।

त्यसको लागि गृहमन्त्री रवि लामिछानेलाई पनि उनले कन्भिन्स गरेका थिए । छानबिन समितिको लागि कस्तो मस्यौदा तयार पार्ने भन्नेबारे कांग्रेसबाट जीवन परियार र रास्वपाबाट स्वर्णिम वाग्ले खटिएका थिए । दुवै नेताले आ–आफ्नो तर्फबाट मस्यौदा तयार पारेका थिए । तर, कांग्रेस र रास्वपा एक अर्काको मस्यौदाप्रति सहमति हुन सकेनन् ।

कांग्रेसले अन्तिममा सहमति उल्लंघन गरेको भन्दै सत्तारुढदलहरु असन्तुष्ट छन् । उनीहरुले आज सदनमा प्रस्तुत हुनेबारेमा निर्णय लिनेछन् ।

यता विपक्षी दलहरुको बैठक पनि बानेश्वरमा बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल, जनमत र लोसपा सहभागी हुँदैछन् । बैठकमा सत्तारुढ दल नेकपा एसका अध्यक्ष माधव नेपाललाई पनि बोलाईएको छ ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाईएको थियो । तर, अहिलेसम्म बैठक बस्ने, नबस्ने अन्योल भने कायमै छ। सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यसैक्रममा बिहीबारको बैठकमा तनाब सिर्जना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्