Logo

कांग्रेससँग निर्णायक वार्ता गर्दै प्रचण्ड



काठमाडौं,४ जेठ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नकांग्रैससँग एक पटक निर्णायक वार्ता गर्ने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रचण्डले आजै साँझ कांग्रेससँग निर्णायक छलफल गर्नेछन् । छलफलमा संसद्मा देखिएको गतिरोध अन्त्यको बारेमा केन्द्रीत हुनेछ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटम लाइन बनाएको छ । तर, सहकारी प्रकरणले हिजोको धकेलाधकेलपछि स्थिति बनेपछि सत्ता र प्रतिपक्ष दलबीच सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको थियो । तर, दलहरुबीच सहमति नजुट्दा दिउँसो २ बजेसम्म बैठक सारिएको छ । यो समचार तयार पार्दासम्म पनि कुनैपनि ठोस सहमति नभएको हुँदा २ बजेको बैठक पनि बस्ने नबस्ने अन्यौलता कायमै छ ।

बिहीबार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनको लागि कांग्रेसका नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मोटामोटी सहमति भैसकेको थियो । तर, अन्तिममा त्यो सहमति भाँडिएको छ । हिजोको प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री दाहालले सदनको अवरोध हटाउनको लागि कांग्रेसको मागबमोजिम संसदीय छानबिन समिति बनाउने तयारी गरेका थिए ।

त्यसको लागि गृहमन्त्री रवि लामिछानेलाई पनि उनले कन्भिन्स गरेका थिए । छानबिन समितिको लागि कस्तो मस्यौदा तयार पार्ने भन्नेबारे कांग्रेसबाट जीवन परियार र रास्वपाबाट स्वर्णिम वाग्ले खटिएका थिए । दुवै नेताले आ–आफ्नो तर्फबाट मस्यौदा तयार पारेका थिए । तर, कांग्रेस र रास्वपा एक अर्काको मस्यौदाप्रति सहमति हुन सकेनन् ।



प्रतिक्रिया दिनुहोस्