Logo

सहकारी ठग्ने सांसद आफ्नै पार्टीभित्र रहेपछि समिति बनाउन कांग्रेस डरायो, ओलीमाथि हातपात गर्नखोज्नु नाजायज: सांसद दाहाल



काठमाडौं,४ जेठ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनै डराएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले सहकारी ठग्नेहरु कांग्रेसभित्रै रहेको चालपाएपछि कांग्रेस सहमतिबाठ पछि हटेको उनको दाबी छ ।

‘नेपाली कांग्रेस आफैँ पनि न्याय दिने कुरामा पछि हटेको देखिन्छ। किनभने सहकारी ठगहरू यहीँ संसदभित्र पनि छन् बाहिर पनि छन्, कांग्रसभित्रकै,’ उनले भने, ‘सरकार कसरी ढाल्ने भन्ने नीहित उद्देश्य कांग्रेसमा देखिन्छ।’

सांसद दाहालले बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कांग्रेस सांसदहरुले दुव्र्यवहार गर्न खोजेको भन्दै आपत्ति जनाए । उनले बिहीबार कांग्रेसले गरेको व्यवहार नाजायज रहेको भन्दै घटनाबारे माफी माग्नुपर्ने बताए ।

‘वेल घेर्ने कुरा संसदीय मर्यादाभित्रै पर्छ। तर, उहाँले सम्माननीय उपसभामुखकै कुर्सीमा गएर बसेर, जबरजस्ती गर्ने, पूर्वप्रधानमन्त्रीमाथि हातपात नै गर्ने खोज्ने, जुन खालको अराजनीतिक गतिविधि भयो,’ उनले भने, ‘सत्तापक्ष डराएको होइन, अनुशाशित भएको हो। अराजकताको जवाफ अराजकताले दिँदा हिजो के हुन्थ्यो?’।

सहकारी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समिति बनाएर अघि बढ्न तयार रहेको र त्यसका लागि सत्तारुढ दलहरु तयार रहेको उनको दाबी छ । सांसद दाहालले सत्तारुढ दलले सहमतिको वातावरण बनाउँदै लगेको भन्दै आइतबार निर्वादरुपमा बैठक सञ्चालन हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्