Logo

गगनलाई मनिष झाको जवाफ: हामीलाई सुनपानी छर्कनु छैन्, फाइल खोल्ने भए सबैको खोलौं



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सह-प्रवक्ता मनीष झाले सहकारी प्रकरणमा छानबिन समिति बनाउन नेपाली कांग्रेसनै पछि हटेको दाबी गरेका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झाले कांग्रेसले व्यक्तिपिच्छे कुरा गरेर सहमतिको वातावरण भाँड्न खाजेको आरोप लगाए । उनले बिहीबार कांग्रेस नेता जीवन परियारलसँग आफ्नो पार्टीले तीन बुँदे सहमति गरेको दाबी गर्दै उक्त सहमति अन्य नेताहरुले नमानेको दाबी गरे ।

नेता झाले समचारमा नाम आउादैमा छानबिन समिति बन्दै जाने हो भने कोहीपनि बाँकी नरहने जिकिर गरे ‘समचार आउँदैमा समित बनाउने हो भने कोही पनि बाँकी रहँदैन । नाम आउँदैमा समिति बन्ने हो भने प्रधानमन्त्रीको पनि नाम आउला । त्यसमा पनि समितिनै बनाउने हो ? । हामीले समिति नबनाउ भनेका छैनौं । उहाँको संलग्नता होला नहोला त्यो पछि थाहा हुन्छ । अभियोग लगाईएको छ । आशंका गरिएको सबैमा समिति बनाउनुस् । तर, तीन वटामा मात्र भन्दै गर्दाखेरी अन्य संकटमा गएका सहकारीको पनि छानबिन हुनुपर्छ’ उनले भने ।

उनले कांग्रेससँग लिखिति माग लिएर आउन आग्रह गरे । व्यक्तिपिच्छेका मागहरु सम्बोधन गर्न नसकिने भन्दै झाले कांग्रेसको आधिकारीक लेटरहेडमा मागहरु समावेश गरेर ल्याउन अनुरोध गरे ।

नेता झाले कांग्रेस महामन्त्री गगन थापाले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारले सुनपानी छर्कन खाजेको भन्दै लगाएको आरोपको खण्डन गर्दै आफ्नो सभापतिलाई सुनपानी छर्कन आवश्यक नरहेको बताए । ‘हामीलाई सुनपानी छर्कनु जरुरी छैन् । छानबिन गर्ने नै हो भने सबैको गरौं । फाइल खोलौं सबैको त्यसका लागि कांग्रेस तयार हओस्’ उनले भने ।

उनले कांग्रेसले दोहोरो चरित्र देखाएको भन्दै निकासका लागि कांग्रेसकै नेताहरूलाई सोध्न सुझाव दिए, ‘के हो भनेर ती व्यक्तिहरूलाई सोध्नुस् जसले फरकफरक समयमा फरक फरक सर्त राख्नुभएको छ । कांग्रेसजस्तो दोहोरो चरित्र देखाएका छैनौं । कसैको नाम तोकेर समाचार आयो भन्दैमा समिति बनाउने हो ? उहाँहरूको मन्त्रीको पनि नाम आएको थियो त ।’

सहकारी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समिति बनाएर अघि बढ्न तयार रहेको र त्यसका लागि सत्तारुढ दलहरु तयार रहेको उनको दाबी छ । सांसद झाले सत्तारुढ दलले सहमतिको वातावरण बनाउँदै लगेको भन्दै आइतबार निर्वादरुपमा बैठक सञ्चालन हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्