Logo

बारामा छल्कियो ओली र किसान श्रेष्ठको हार्दिकता



काठमाडौं,४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बारा पुगेका छन् । बाराको प्रसौनी गाउपालिकाको नव निर्मित प्रशासकीय भवनको समुद्घाटन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली बारा पुगेका हुन् ।

ओलीको साथमा पार्टी सचिवसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र कृषिमन्त्री ज्वालाकुमारी साह पनि पुगेका थिए । एमालेबाट ज्वाला र रघुवीर पुगेको कार्यक्रममा सोही क्षेत्रका संघीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) पनि पुगेका थिए ।

श्रेष्ठ बारा ४ बाट निर्वाचित सांसद हुन् । उनी हाल एमालेबाट विभाजित बनेको नेकपा एकीकृत समाजवादीमा छन् । उनले सत्ता गठबन्धनबाट बारामा चुनाव जितेका हुन् । आजको कार्यक्रममा ओली र किसानबीच निक्कै हार्दिकता देखिएको छ ।

ओलीसँगै छेउमा बसेका किसान बेलाबेला ओलीसँग गफिरहेका थिए । ओलीले पनि उनलाई आफ्नै पार्टीका नेतालाई भन्दा धेरै भाउ दिएको कार्यक्रममा सहभागी एक नेताले बताए । त्यसोत पार्टी विभाजनपछि एकीकृत समाजवादीका सांसदसँग ओलीले मञ्च सेयर गरेको यो नै पहिलो पटक हो । ०७४ सालको निर्वाचनमा ओलीकै जोडबल र सहयोगमा तनहुँ १ बाट २५ वर्षपछि एमालेको विरासत फर्काउँदै किसानले चुनाव जितेका थिए । तर, पार्टी फुटेपछि यी दुईको सम्बन्धमा दरार आएको थियो ।

तर गत वर्षको राष्ट्रपति निर्वाचनको मुखमा एमाले र एकीकृत समाजवादी मिलाउन श्रेष्ठले नेतृत्वदायी भूमिका खेलेका थिए । एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने र दुई पार्टी एक बनाउन उनले आफ्नै घरमा विभिन्न नेताहरुको गोप्य बैठकसमेत राखेका थिए । तर, ती सबै प्रयासहरु असफल भए ।

पछिल्लो समय किसान आफ्नै पार्टीमा असन्तुष्ट रहँदै आएका छन् । उच्च स्रोतका अनुसार श्रेष्ठसहितका नेताहरु पार्टी फुटाएरै भएपनि एमालेमा फर्किने अन्तिम तयारीमा छ्न । त्यसका लागि विभिन्न चरणमा छलफल पनि भईसकेको छ । एमालेमा फर्किनै हल्लाकाबीच आज बारामा देखिएको यो हार्दिकताले भने यस कुरामा बल पुर्याएको छ ।



प्रतिक्रिया दिनुहोस्