Logo

सरकारले भन्यो: कांग्रेसले समातेको बाटो गलत छ, इगो त्यागेर आओस्



काठमाडौं । सरकारले सहकारी समस्या समाधान गर्न सरकारले भगीरथ प्रयास गरिरहेको दाबी गरेको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सहकारी समस्या समाधानका लागि सरकारले प्रयास गरेको बताएकी हुन् ।

मन्त्री शर्माले नेपाली कांग्रेसले सदनमा देखाईरहेको व्यवहार अलोकतान्त्रिक रहेको भन्दै इगो त्यागेर वार्तामा आउन आग्रह गरेकी छन् । उनले सरकार सहकारी पीडितको पक्षमा सधैभरी रहेको भन्दै कांग्रेसले पनि जनतालाई भ्रममा राख्न नहुने बताईन् ।

उनले भनिन्, ‘सबै विषयमाथि छानबिन गर्ने हो वा व्यक्तिमाथि भन्ने कुरा आएको छ, उहाँहरूले व्यक्तिमाथि छानबिन गर्नुपर्छ भनेर केन्द्रित हुनुहुन्छ हिजोको दिनसम्म आइपुग्दा समग्र सहकारीको विषयमा छानबिन पनि गर्ने र दोषी प्रमाणित हुनेहरूलाई कारबाहीको सिफारिस पनि गर्ने समिति बनाउने भन्नेमा छलफल भएको थियो त्यो छलफलमा अहिले प्रमुख प्रतिपक्ष अडिन सकेन, सहमति बन्छ भन्ने नै थियो तर संसदमा गतिरोध राख्न ढङ्गले नै प्रस्तुत भयो। त्यस कारणले सहमति हुन सकेन।’

मन्त्री शर्माले कांग्रेसले समातेको बाटो गलत रहेको जिकिर गरिन् ‘त्यो बाटो गलत छ । सदन अवरुद्ध गरेर समस्याको समाधान निस्किँदैन् । वार्ता र छलफलमा आउनुस् । इगो त्यागेर आउनुभयो भने भोलिनै समस्याको समाधान हुन्छ’ ।

कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै सदन अवरुद्ध गर्दै आएको छ । सरकारले समग्रमा सहकारीका समस्या समाधान गर्नेगरी समिति बनाउन चाहेको छ । तर, कांग्रेसले भने रविमाथि मात्र छानबिन गर्नुपर्ने बताएपछि सहमति हुन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्