Logo

समग्र सहकारीको छानविन प्रहरीले गरोस्, गृहमन्त्रीमाथि भने संसदीय समिति नै बन्नुपर्छः कांग्रेस नेता जबरा



काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उदय शमशेर जबराले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर नै छानविन हुनुपर्ने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्रीमाथि प्रहरीले छानविन गर्न नसक्ने भएकाले संसदीय समिति आवश्यक परेको बताएका हुन् ।

समग्र सहकारीको समस्या प्रहरीमार्फत गराएर गृहमन्त्री लामिछानेको सन्दर्भमा भने समिति बन्नुपर्ने उनको भनाइ छ । ‘समग्र रुपमा सहकारीको छानविन संसदीय समितिले गर्न सक्दैन । हामी प्रहरीलाई विश्वास गर्छौं । समग्रह सहकारीको के छ प्रहरीले गरोस् ।’ उनले भने, ‘तर, सीआईबी गृहमन्त्रालय अन्तर्गत, गृहमन्त्रालय रवि लामिछानेको अन्तर्गत र आईजीले केही प्रमाण नभेटी गृहमन्त्रीलाई सफाइ दिनुभयो । प्रधानमन्त्रीले दिनुभयो । गृहमन्त्रीको हैसियतले प्रहरीले उहाँलाई छानविन गर्न सक्दैन । यो पब्लिक अफ इन्ट्रेस्टको कुरा हो ।’

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानविन गर्न समिति नबनेसम्म संसद्को काम कारबाही अगाडि नबढ्ने बताए । भोलि (आइतबार) बस्ने प्रतिनिधि सभामा पनि गृहमन्त्रीलाई बोल्न दिन सकिने, तर त्यसपछि कांग्रेसका नेताहरुले बोल्न पाउनुपर्ने उनले बताए । बोल्न दिने सकिए पनि समिति नबनेसम्म हाउसको बिजनेश अगाडि नजाने उनको भनाइ छ ।

‘बोल्न सबैले पाउँछन् । तर, संसदीय समिति गठन नभएसम्म हाउसको बिजनेश अगाडि बढ्न दिँदैनौं । आइतबार पनि गृहमन्त्रीले बोल्न चाहनुभयो भने उहाँले बोलिसकेपछि त्यसको जवाफ हामी दिन्छौं । तर, हाउसको बिजनेस अगाडि जाँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot