काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले नेपाललाई विगतदेखि नै संसदीय व्यवस्था नफापेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ४० वर्षसम्मको अनुभवले संसदीय व्यवस्था अफापसिद्ध भइरहेको र अब प्रत्यक्ष निर्वाचित कार्यकारीको बाटोमा जानुपर्ने बताएका हुन् ।
‘प्रतिनिधि सभा त नागा जोगीहरु भेला हुने कुम्भ मेलाजस्तो देखिइराखिएको छ । हामीले नीतिहरु बनाउन सकिराखेका छैनौं । व्यवस्थाको विरुद्धमा मनोविज्ञानहरु निर्माण भइराखेको छ, यसलाई छिटो अन्त्य गर्नुपर्छ ।’ उनले भने, ‘नेपालमा यो संसदीय व्यवस्था अफापसिद्ध नै भएको प्रमाणित हुने निश्कर्षतिर जाँदैछ । ४०औं वर्ष यो व्यवस्थामा अभ्यासरत भएर आइसक्यो । यस्तै हुने हो भने अब नेपालमा कार्यकारी प्रमुख देशैभरीबाट आफ्नो देशको नेतृत्व छान्ने प्रक्रियामा जानैपर्छ ।’
संसद् विगतदेखि नै पूर्वाग्रहको थलोजस्तो बनेको उनको टिप्पणी छ । संसदीय व्यवस्था र सत्ता देश र जनताको लागि भन्दा पनि आफ्नो कमजोरी छोप्ने भर्याङजस्तो बनेको उनको टिप्पणी छ ।
साथै, नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिनुपर्ने उनले बताए । पूर्वमन्त्री किरातीले गृहमन्त्री लामिछानेमाथि नैतिकताको प्रश्न उठिसकेपछि उनले मार्ग प्रशस्त गर्नुपर्ने बताए । ‘लोकतन्त्रको लागि जसले यतिको वर्षसम्म संघर्ष गर्यो, नेपाली कांग्रेसले गृहमन्त्रीलाई संसद्मा आफ्नो जवाफ दिने वातावरण बनाउनुपर्छ । त्यो तहको जिम्मेवारीबाट नैतिकताको आधारमा छानविन समिति बनाउन मार्ग प्रशस्त गर्नुपर्छ, यही नै हो अहिलेको मध्यमार्गी बाटो । मेरो हिजोदेखिको अडान आज पनि छ, भोलि पनि हुनेछ,’– उनले भने ।
उपप्रधान एवं गृहमन्त्री लामिछानेले पुराना दल र नेताहरुमाथि नैतिकताको प्रश्न उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाएको स्मरण गराउँदै उनले आफूमाथि प्रश्न उठेपछि समयमै मार्ग प्रशस्त नगर्ने हो भने जनतामा थप निराशा बढ्ने बताए । ‘राजीनामा दिने वा नदिने भन्ने कुरा उहाँले जान्नुहुन्छ । उहाँको राजनीतिक मूल एजेण्डा नै नैतिकता हो ।’ उनले भने, ‘पुरानो दल र नेतामाथि नैतिकताको प्रश्न उठाएर नै उहाँले जनताबाट अनुमोदित भएर आएको हो । तर, आज यो चक्रमा फसिसकेपछि ‘चुच्चे ढुङ्गो, उही टुङ्गो’ हुने हो भने जनतालाई निराशाबाहेक के दिन्छ ?’