Logo

संसदीय छानविन समितिबारे कांग्रेससँग भोलि विहानसम्म सहमति हुन्छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गतिरोध चाँडै अन्त्य हुने बताएका छन् । आज (शनिबार) नेपालको कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलि विहानसम्म कांग्रेससँग सहमति गरेर संसद् अवरोध अन्त्य हुने बताएका हुन् ।

‘मैले केही दिनदेखि लगातार समीकरणभित्र पनि र प्रतिपक्षमा पनि छलफल गरिराखेको छु । अहिले हामी समीकरणमा भएका प्रमुख दलसँग छलफल छ । मलाई विश्वास छ भोलि विहानसम्म एउटा निकास दिनुपर्छ भन्नेमा लागिरहेको छु,’– उनले भने ।

साथै, बाहिर विभिन्नखाले हल्लाहरु आइरहेको स्मरण गराउँदै उनले सत्तासमीकरणमा कुनै समस्या नरहेको बताए । उनले भने, ‘परिस्थिति मलाई कहालिलाग्दो त लागेको छैन, उत्तारचढावहरु छन् ।’

नीति कार्यक्रमका मूलभूत विषयलाई बजेटले बोकोस् भनेर आफू लागिपरेको उनको भनाइ छ । त्यस्तै आफूले चौथो पटक संसद्बाट विश्वासको मत लिन लागेको जानकारी गराउँदै उनले मत पाउनेमा ढुक्क रहेको बताए । उनले संख्यामा घटबढ भएपनि मत पाउनेमा दुविधा नरहेको बताए । ‘घटबढ भइराख्छ तर विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म कुनै दुविधामा छैन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्