Logo

संसद् सधैँ बन्धक बन्ने हो भने लोकतन्त्र बलियो हुन सक्दैनः सभामुख घिमिरे



काठमाडौँ, ५ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्बाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

‘नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित हुन सक्ने वातावरण नभएमा अध्यादेशको बाटोबाट जानुपर्ने हुन्छ । यस्तो स्थिति आएमा लोकतन्त्रको मार्ग बलियो हुन सक्दैन,’– सभामुख घिमिरेले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि समय मागिसक्नुभएको छ । यस्तो अवस्थामा सदन चल्ने वातावरण सृजनाका लागि सबै दल र स्वतन्त्रताका क्षेत्रमा काम गर्ने पत्रकारिताजगतले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ । उनले समानुपातिक प्रणालीकाका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्थाबीच राजनीतिक स्थायित्व र समृद्धिका लागि पत्रकारलाई कलम चलाउन सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्