Logo

संसद् अवरोध भइरह्यो भने अध्यादेशमार्फत बाटो खोल्नुपर्ने अवस्था आउँछः सभामुख घिमिरे



काठमाडौं, ५ जेठ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अवरोध भइराखेको खण्डमा संसद् अन्त्य गरेर अध्यादेशमार्फत अगाडि बढ्नुपर्ने बताएका छन् । आज (शनिबार) नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद् सुचारु गर्ने विषयमा सबै दलहरु गम्भीर हुनुपर्ने बताएका हुन् ।

‘अहिले सरकारको बहुमत छ कि छैन भनेर प्रश्न उठिसकेको बेलामा सरकारले ७ गते विश्वासको मतका लागि तिथि मिति पनि तोकेको बेला छ ।’ उनले भने, ‘यस्तो बेलामा संसद् अवरोध भयो, चलेन भने के परिणाम आउँछ ? निश्चय पनि त्यतिबेला संसद् अन्त्य गरेर अध्यादेशको माध्यमबाट कतिपय बाटाहरु खोल्नुपर्ने आवस्था आउँछ ।’

जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने उनको भनाइ छ । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्बाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

‘नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित हुन सक्ने वातावरण नभएमा अध्यादेशको बाटोबाट जानुपर्ने हुन्छ । यस्तो स्थिति आएमा लोकतन्त्रको मार्ग बलियो हुन सक्दैन,’– सभामुख घिमिरेले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि समय मागिसक्नुभएको छ । यस्तो अवस्थामा सदन चल्ने वातावरण सृजनाका लागि सबै दल र स्वतन्त्रताका क्षेत्रमा काम गर्ने पत्रकारिताजगतले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्