Logo

प्रचण्डले विश्वासको मत लिने दिन नजिकिएसँगै कांग्रेस नेताहरुले बढाए अस्वभाविक सक्रियता



काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् । आज (शनिबार) विहानमात्रै प्रधानमन्त्री प्रचण्ड भेटेर फर्किएको नेताहरु पुन बालुवाटार पुगेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला बालुवाटार बालुवाटार पुगेका हुन् ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्रीमाथि छानविन हुनुपर्ने माग गर्दै कांग्रेसले सदन अवरोध गरिरहेको छ । कांग्रेसले निरन्तर सदन अवरोध गर्दा विचाराधीन विधेयक अलपत्र परेका छन् ।प्रधानमन्त्री प्रचण्डले आगामी जेठ ७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । उनले संसद्बाट चौथो पटक विश्वासको मत लिन लागेका हुन् । गत २०७९ पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि विभिन्न मितिमा तीन पटक विश्वासको मत लिइसकेका छन् ।

पछिल्लो समय सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि उपेन्द्र यादव सरकारबाट बाहिरिएका छन् । दल विभाजन भएपछि तात्विक असर नदेखिने अवस्थामा पनि विश्वासको मत लिनुपर्ने अभ्यासका कारण प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेका हुन् । संसद्बाट विश्वासको मत लिन गतिरोध अन्त्य हुनु आवश्यक छ । कांग्रेस र सत्तारुढ दलबीच संसदीय छानविन समितिमा सहमति नबने प्रचण्डले विश्वासको मत लिने दिन पनि संसद् सहज रुपमा अगाडि नबढ्ने निश्चित छ ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेससँग संवाद बढाएका छन् भने कांग्रेस नेताहरु पनि निरन्तर बालुवाटार धाइरहेका छन् । प्रचण्डसँग कांग्रेसले हिमचिम बढाएको छ । सदन अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलका नेताहरुलाई छलफलमा बोलाएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपासभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछाने र प्रधानमन्त्री प्रचण्ड छलफलमै रहेको अवस्थामा कांग्रेसका शीर्ष नेताहरु बालुवाटार आइपुगेका थिए ।

एमाले अध्यक्ष ओलीले कांग्रेस नेताहरुको आगमनलाई अप्रत्याशित रुपमा लिएको उनी निकट स्रोतले बताएको छ । त्यस्तै, माओवादी वृत्तले एमाले अध्यक्ष ओलीको भूमिकाप्रति शंका गरिरहेको छ । ओलीले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई बोकेर परिस्थितिलाई प्रतिकूल बनाउन खोजेको माओवादी नेताहरु बताउँछन् । कांग्रेसले निरन्तर संसद् अवरोध गरिरहँदा माओवादीसँगको सम्बन्ध पनि नराम्रो बन्ने र रास्वपाले पनि सरकार छाड्ने परिस्थिति बनाएर कांग्रेससँगको सत्ता समीकरण बनाउने तयारीमा ओली रहेको माओवादी नेताहरुको बुझाइ छ ।

संसदीय राजनीतिका चतुर खेलाडी मानिएका प्रचण्डले यी सबै गतिविधिहरुलाई मिहिन रुपमा नियालिरहेका छन् । एमाले नेताहरुको गतिविधिहरु नियालिरहेका प्रचण्डले बरु फेरि कांग्रेससँगकै सत्ता गठनबन्धन अगाडि बढाउने तयारी थालेको बताइएको छ । अनेक शंका, उपशंकाका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा कांग्रेसले अस्वभविक सक्रियता बढाएको छ । स्रोतका अनुसार कांग्रेसभित्र प्रचण्डलाई यसपटक विश्वासको मत दिनेबारे गोप्य छलफल भइसकेको छ । माओवादका एक सांसदले यसपटक कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने सम्भावना बढेर गएको दाबी गरे ।

साथै, प्रधानमन्त्री प्रचण्डले आज एक कार्यक्रममा आफूले जतिपटक विश्वासको मत लिएपनि पाउने दाबी गरे । उनले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको भन्दै कार्यकर्ताहरुलाई टेन्सन नलिनसमेत आग्रह गरे । पछिल्ला केही दिन निकै तनावमा देखिएका प्रचण्ड आज भने निकै प्रफुल्ल मुद्रामा देखिएका थिए । उनको बडी ल्याङ्वेजले सत्ता समीकरणमा केही फेरबदल आउँदैछ भन्ने प्रष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस्