- डा. लक्ष्मी पौड्याल
तिमी गर्भमा रहेको समय संझन मन लाग्यो,
खुसी र बितृष्णा दुबै सँगसँगै जाग्यो।
११ बर्ष अगाडिः
तिमी निकै थलिएकी थियौ,
चल्न नसक्ने गरि ढलिएकी थियौ।
बटुवाले बाटो मोडेका थिए,
आफन्तले हेर्न छोडेका थिए ।
तिमीलाई बचाउने आशामा हामी निरन्तर लाग्यौं,
देशका कुना कन्दरासम्म अभियन्ता जोड्न भ्यायौ।
तिमीलाई बचाउन खोज्दा बाटो रोक्ने धेरै थिए ।
हाम्रो प्रयासलाई खिसिट्युरी गर्दै उढाईरहन्थे ।
तिम्रो सम्पति रजाई गर्नेले धेरै पटक ज्यान लिने धम्की सुनाए,
समर्पित मनलाई अदालत र पुलिसको ढोकासम्म पुर्याए ।
तिम्रो सेवामा हामी निरन्तर लागि रह्यौ,
न पद, पैसा न त तक्मा र सम्मान खोज्यौ ।
तिम्रो पुनर्जन्मको आशामा डुब्यौं ।
दुख, कष्ट र पीडा सबै भुल्यौ।
खुसी यस अर्थमा छौः
तिमिलाई मृत्युको मुखबाट बाहिर निकालिएको छ ।
तिम्रो आँगनमा फुलको सुगन्ध भर्न सकिएको छ।
हिजो दुरर्दुर गर्ने ठाउँ आज सबैको रोजाई बनेको छ ।
सबैको रमाउने, योग र ध्यान गर्ने ठाउँ बनेको छ।
हामीले रोपेका बिरुवाले बटुवालाई छहारी र शहरलाई सौर्न्दर्य दिएका छन् ।
फोटो खिच्ने, फिलिम सुटिङ गर्ने, टिकटक बनाउनेले खुसी भरेका छन् ।
हेर त, रुद्राक्ष, आरु, केरा, स्याउले फल दिनथालेका छन् ।
नदीको किनार पार्टी र रेस्टुरेन्टको रोजाइ बनी रोजगारीको अवसर दिन थालेका छन्।
देशैभरि सरसफाइको लहर फैलिदैछ ।
अध्यक्ष र मन्त्रीको पनि एजेन्डा बन्न थालेको छ ।
महानगरपालिकाले आफ्नो दायित्व बुझ्न थालेको छ ।
महाअभियानकै मोडल पछ्याउँदै अभियान चालेको छ।
पद र पैसा मौलाउदै गएको स्वार्थी समाजलाई,
निस्वार्थ सेवाको उदाहरण पेश गरेको छ ।
दलगत राजनीतिले थलाथला परेर छिन्नभिन्न समाजलाई, एकजुट गर्ने बुटी सिकाएको छ ।
आफुले सिन्को नभाच्ने, राज्यलाई मात्र गाली गर्ने जमातलाई, काम गर्ने नमुना पेश गरेको छ ।
अधिकार सँगै दायित्व पनि पूरा गर्नु पर्छ भन्ने नैतिकताको पाठ सिकाएको छ ।
वितृष्णा यस अर्थमाः
अझै पनि तिम्रो घर, आँगनलाई सागुरो बनाउदै छन् ।
नदीको रुपमा बग्न नदिएर नहर बनाउदै छन् ।
ढलमुक्त नदी बनाउने जिम्मेवार अड्डा खै के–के मा रमाउदै छन् ,
ठुला पर्खाल, बाटो, बाहिर रङ्ग रोगन पोतेर ढुकुटि रित्याउदै छन् ।
अझै पनि तिम्रो आँगनलाइ विभिन्न बाहनामा आफ्नो कब्जामा लिने दुचेष्टा देखिन्छ ।
ठाउँ–ठाउँमा ढल बगेकोबग्यै भेटिन्छ ।
सफा गरेर गयो अर्को हप्ता थप फोहर देखिन्छ ।
यस्ता बिकृतिप्रति जिम्मेवार निकाय बेखबर देखिन्छ ।
खबरदार,
यो पैसा नलिने अभियान हो, सरकारी बजेटसँग नजोड,
निस्वार्थ कर्मलाई जागिरेजस्तै जस अपजसतिर नमोड,
अभियानका परिणामलाई श्रेय लिने तछाडमछाड नगर।
राष्ट्रप्रति समर्पित स्वयसेवी कर्मको अबमूल्यन नगर,
एघार–एघार बर्ष निस्वार्थ लाग्ने अभियन्ताको मन कुडाउने दुचेष्टा नगर।
अबको बाटोः
राज्यको सम्पति दोहन गरी जिम्मेवारी पूरा नगर्नेलाई ठेगान लगाउनु छ ।
अभियानलाई भजाएर फाईदा लुट्नेलाई पाखा लगाउनु छ।
निस्वार्थ अभियानमा होमिएका अभियन्ताहरु अझ बढी जुट्नुछ ।
बागमतीजस्तै सम्पदा संरक्षण अभियान राष्ट्रब्यापी बनाउनुछ ।
राष्ट्र सेवामा समर्पित अझ धेरै उदाहरण पेश गर्नुछ ।
मर्दा लैजाने केही छैन, बाचुन्जेल आत्मसम्मान र सत्कर्मको बाटो रोज्नुछ ।
जय वाग्मती !
(डा. पौडेल बागमती सफाइ अभियन्ता हुन्)