काठमाडौं, ५ जेठ । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेको छ ।उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तापक्ष र प्रतिपक्षबीचको आजको बैठक उपलब्धिमूलक र सकारात्मक रहेको बताए । उनले भने, ‘समिति बनाएर जानुपर्छ भन्ने कुरा हो । त्यसमा सबै सहमत भएकै अवस्था छ । समितिको कार्यादेश के हुने भन्ने कुरामा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्ने कुरामा सबै राजनीति दलहरुका बीचमा समान धारणा बनेको छ ।’
संसदीय छानविन समिति बनाएर जानुपर्छ भन्नेमा सबैको सहमति भएको उनले बताए । भोलि विहानदेखि नै टिओआरका बारेमा काम सुरु हुने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ । आज भएको सहमतिसँगै भोलिदेखि संसद्को गतिरोध अन्त्य हुने भएको छ ।