Logo

कांग्रेसले आज पनि संसद् चल्न नदिने, टीओआरमा मिलेन कुरा



काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर आज पनि संसद् अवरोध गर्ने भएको छ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले लामो समयदेखि संसद् अवरोध गर्दैआएको छ ।

संसद् गतिरोध अन्त्यका लागि हिजो प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच छलफल भएको थियो । सो क्रममा संसदीय समिति बनाउन दुवै पक्ष सहमत भएका थिए । उक्त बैठकले समितिको कार्यादेश (टीओआर) तयार गर्न कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले टीओआरको विषयमा आज विहानदेखि नै काम थालेको थियो । तर, सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच टीओआरमा कुरा नमिलेको बताइएको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले टीओआरमा सहमति नजुटेको बताए । उनका अनुसार कांग्रेसले टीओआरमै गृहमन्त्रीको नाम समावेश गर्नुपर्ने माग राखेको थियो । कांग्रेसको सो मागप्रति नेकपा (एमाले) सहमत नहुँदा आजको बैठक निश्कर्षमा पुग्न नसकेको हो । टीओआरमा सहमति नभएसँगै आज पनि संसद् अवरोध कायमै रहने भएको छ । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot