Logo

प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न एक नाबालकसहित ७ अभियुक्त सार्वजनिक



काठमाडौं, ६ जेठ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा एक नाबालकसहित ७ अभियुक्त सार्वजनिक गरिएको छ । खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक नाबालकसहित सचिन परियार र अन्जली श्रेष्ठ, बिपना कार्की, नुनमाया कार्की, बुद्द लामा, अमृत तामाङलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु घटनामा संलग्न रहेको खुलेसँगै आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार मृतक घिमिरे ड्युटी सकेर आफ्ना सहकर्मीहरुसँग छुट्टिएका थिए । घिमिरे घरतर्फ जानुअघि खाजा नास्ता खान तारकेश्चर नगरपालिका–११ स्थित एक खाजा घरमा गएका थिए । त्यहा खाजा खाइरहँदा सचिन र अन्जली पनि सोहि खाजा पसलमा आइपुगेका थिए ।

युवराज र सचिनको पुरानो परिचय रहेको र सो क्रममा उनीहरु एउटै टेबलमा खाजा खाएको खुल्न आएको छ । प्रहरीका अनुसार सचिनले आफूहरु तत्काल आश्रय लिइरहेको स्थान (घटनास्थल) सम्म पुराईदिन आग्रह गरेपछि युवराजले उनीहरु दुवैजनालाई आफ्नो मोटरसाइकलमा राखेर पुर्याइदिएका थिए ।

सो स्थानमा पुर्याइसकेपछि सचिनले अञ्जलीलाई विसन्चो रहेको र माथिसम्म बोकेर लगिदिन आग्रह गरेको र सो क्रममा युवराजले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा पुगिसकेपश्चात सचिनले अचानक युवराजको हेल्मेट खोसेर टाउकोमा प्रहार गरेको सो गरेलगत्तै सोही घटनास्थलमा पहिलेदेखि आश्रय लिर्र्इ बसेका बिपना, नुनमाया, बुद्द, अमृत र एक नाबालकले अन्धाधुन्ध रड, ईट्टा, युवराजको युनिफर्मको बेल्ट र ढुङ्गा लगायतको हतियारको प्रयोग गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्या गरिसकेपछि उनीहरुले युवराजको शवलाई सोहि स्थानमा म्याट्रेसले छोपेर लुकाएको र मृतकले लगाएको लुगा जुत्ता जलाई नष्ट गरी त्यहाँबाट भागेर जरंखुतर्फ गई सडकपेटीमा सुतेको प्रहरी अनुसन्धानबाट खुलेको छ । निज सचिनलाई निर्घात कुटपिट गरी हत्या गर्नुमा लुटपाट, महिलासँगको विवाद लगायतका कारण हुनसक्ने तर्फ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्