Logo

प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले लगायो ह्वीप



काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

आज बिहान बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । कांग्रेसले विश्वासको मत नदिन सांसदहरुलाई ह्वीपसमेत जारी गरेको छ ।

बैठकले संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदछन् ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

प्रधानमन्त्री र सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार देखिए पनि यसको कार्यक्षेत्रलाई लिएर सत्ता पक्ष र कांग्रेसबीच सहमति हुन सकेको छैन।

 नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot