Logo

देउवाले डाकेको विपक्षी दलको बैठक जारी, सरकारविरुद्ध कडा रणनीति बनाउने



काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाकेको विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो ।

विपक्षी दलमा कांग्रेससहित राप्रपा, जसपा नेपाल, लोसपा र जनमोर्चा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संदसम विश्वासको मत लिँदैछन् ।

प्रचण्डलाई विश्वासको मत लिनबाट रोक्ने योजनामा कांग्रेस लागेको छ । विश्वासको मत लिनबाट रोक्ने रणनीतिमा रहेको कांग्रेसले विपक्षी दलको संयुक्त बैठकबाट निर्णय लिनेछ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

प्रधानमन्त्री र सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार देखिए पनि यसको कार्यक्षेत्रलाई लिएर सत्ता पक्ष र कांग्रेसबीच सहमति हुन सकेको छैन।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वास मत लिने तयारी गरेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकअघि कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको हो।

नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ। उक्त माग सम्बोधन नभए संसद बैठक अवरोध गर्ने कांग्रेसले चेतावनी समेत दिएको छ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।



प्रतिक्रिया दिनुहोस्