काठमाडौं,७ जेठ । प्रतिपक्षी नेपाली कांग्रेससहित दलको नारबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् ।
सोमबारकाे प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले विश्वास मत प्राप्त गरेका हुन् । बैठकमा १५८ उपस्थित थिए । उनको पक्षमा १५७ मत पर्यो । विपक्षमा शून्य र तटस्थमा एक मत परेको सभामुख देवराज घिमिरेले जनाए ।
सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग राख्दै प्रतिपक्षीहरूले नारबाजी गरिरहे । १५ मिनेटका लागि स्थगित भएपछि बसेको दोस्रो बैठकमा मर्यादापालक लगाएर प्रधानमन्त्री प्रचण्ड रोष्ट्रम पुगेका थिए । उनको विश्वासको मतमाथिको प्रस्तावमा एमालेका उपाध्यक्ष विष्णु पौडेलमात्रै छलफलमा सहभागी भए ।
प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको संसद् बैठकमा सत्तारुढ दलका तीन जना सांसद अनुपस्थित भएका छन् । बैठकमा नेकपा एमालेका बसन्त नेम्वाङ, नेकपा एसका प्रकाश ज्वाला र नागरिक उन्मुक्तिका गंगाराम थारु अनुपस्थित भएका हुन् । एमालेका सांसद नेम्वाङ २ महिनादेखि बिरामी छन् भने अरु दुई सांसदको बारेका संसद सचिवालयलाई जानकारी छैन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘इफ, बट’ केही नभनी प्रधाानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएका थिए।
उनकै पार्टीका उपमहासचिवसमेतरहेका सांसद ज्वाला भने सोमबारेको संसद बैठकमा अनुपस्थित रहे।
उता नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पुरै ४ जना सांसदको मत प्रचण्डलाई दिने बताएकी थिइन्।
उनले ह्वीप नलगाएपनि प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई सबै मत दिने दाबी गरेकी थिइन। तर, उनको पार्टीको सांसद चौधरी अनुपस्थित भएका छन्।
नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।