Logo

संसद्मा कांग्रेसले जे गर्‍यो त्यो ठीक भएन: रास्वपा प्रमुख सचेतक परियार



काठमाडौं,७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसदीय व्यवस्थाको हिमायती पार्टी नै नेपाली कांग्रेस भएकोले आज संसद्मा भएको गतिविधि शोभनीय नभएको टिप्पणी गरेका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रममा कांग्रेसले अवरोध गरेपछि सांसद भवन परिसरमा सञ्चारकर्मीसँग् कुराकानी गर्दै उनले ढिलो÷चाँडो अहिलेको गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरे ।

‘सभामुखले गर्नु भएको कार्य संविधानसम्मत छ । मलाई विश्वास थियो । कांग्रेसले सदनमा आज अवरोध गर्दैन । तर, लोकतान्त्रिक भनिएको दल नेपाली कांग्रेसले आज अलोकतान्त्रिक चरित्र देखायो । कांग्रेसको व्यवहार राम्रो भएन । यसले नेपालको संसदीय प्रणालीलाई कदापी राम्रो गर्दैन । हामीले यसबाट शिक्षा लिनुपर्छ । कांग्रेसले जे गर्यो त्यो गर्न मिल्दैनथ्यो । आज पहिलो बैठक अवरुद्ध भएपछि संसदको कार्यसूची अवरुद्ध भएपछि सबै कार्यसूची हटाउने कुरा भएको थियो । त्यहाँ पनि कांग्रेसले अवरुद्ध गर्यो’ उनले भने ‘एउटा लोकतान्त्रिक र संसदीय मुल्य मान्यतालाई अंगिकार गर्ने कांग्रेसले जे गर्यो त्यो ठीक भएन् । ’

सांसद परियारले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउन आफूहरुलाई कुनैपनि आपत्ति नभएको जिकिर गरे । उनले कांग्रेसले नै आफै संसदीय समिति बनाउन नमानेको दाबी गरे ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्