Logo

मधेशको सत्तामा जनमतको इन्ट्री निश्चित, मुख्यमन्त्रीमा महेश कि चन्दन ?



काठमाडौं,७ जेठ । विपक्षी दलहरुको चर्को नाराबाजी र वेल घेराउकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकबाट प्रचण्डले विश्वासको मत लिएका हुन् । आजको बैठकमा उपस्थित १५८ जनामध्ये प्रचण्डको पक्षमा १५७ मत परेको थियो । १ मत भने तटस्थमा पर्यो । प्रचण्डलाई एमाले, माओवादी केन्द्रसहित रास्वपा, जसपा, नाउपा, जनमत, आम जनता पार्टी र २ जना स्वतन्त्र सांसदले मत दिए ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएका हुन् । प्रचण्ड सरकारमा सामेल नरहेको जनमतले पनि प्रचण्डलाई विश्वासको मत दिएको छ । संसद्मा ६ सीट रहेको जनमतले प्रचण्डलाई विश्वासको मतमात्र दिएन मधेश प्रदेशको मुख्यमन्त्री पद पनि सुरक्षित गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको जनमतको नजर मधेश प्रदेशको मुख्यमन्त्रीमा रहेको छ । सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रसँग मिल्दा प्रदेशमा सरकार बनाउन सजिलो हुनेमात्र होइन, मुख्यमन्त्री हुने संभावना रहेको छ । त्यही संभावनालाई ख्याल गरेर राउतले रणनीतिक निर्णय लिएको देखिन्छ ।

जनमतले मधेश प्रदेश सरकारमा रहेको जसपाको नेतृत्व खोस्न खोजिरहेको छ । सीके राउतले आफ्नो प्रतिस्पर्धी उपेन्द्र यादवलाई देखिरहेका छन् । त्यही आधारमा रणनीति चालबाजीमा रहेका राउतले अहिले जसपा विभाजित भएको मौकामा चौका हान्न खोजेका छन् । जसपा नेपाल विभाजित भएपछि संघीय सरकारबाट बाहिरिएको छ अनि प्रदेश सरकारबाट पनि बाहिरिने अंकगणित रहेको छ ।

एमाले, माओवादी केन्द्र, एसले साथ नदिँदा जसपाका सरोजकुमार यादव नेतृत्वको मधेश सरकार जोगिने अवस्थामा छैन । त्यही अवस्थामा जनमतले मुख्यमन्त्री दाबी गरेको हो ।

यादव नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । जसपा नेपाल फुटेपछि प्रदेश सरकारमा सामेल एमाले र माओवादी सरकारबाट बाहिरिसकेका छन् । यादवले अब ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । सर्वोच्च अदालतले पार्टी विभाजनलाई मान्यता दिएमा यादवको सरकार ढल्ने निश्चित रहेको छ ।

मधेशमा जनमतका १३ जना सांसद छन् । मुख्यमन्त्री जनमतले पाए पनि नेतृत्वकर्ता भने टुंगिउको छैन् । जनमतबाट मुख्यमन्त्रीका लागि पूर्वमन्त्ती महेश यादव र चन्दनकुमार सिंहले दाबी गरिरहेका छन् । हाल प्रदेश सभामा महेश संसदीय दलका नेता छन् तर, चन्दन उनीभन्दा सिनियर हुन् । त्यसैले महेशको भन्दा चन्दनको सम्भावना बढिरहेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्