Logo

कांग्रेसमाथि ओलीको अट्याक : सत्ता गुमेपछि पानीबिनाको माछाजस्तो भट्याक-भट्याक गरिरहेको छ



काठमाडौं,८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने कुनैपनि सम्भावना नभएको प्रष्ट पारेका छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले कांग्रेससँग मिल्नुपर्ने कुनैपनि कारण नरहेको प्रष्ट पारेका छन् ।

‘कांग्रेसको चरित्र नै वेईमानीको छ । संविधान बनाउँदा सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसपछि एमालेले नेतृत्व लिने कुरा थियो । तर, कांग्रेसले धोका दियो । सत्तामा हुञ्जेल कांग्रेसले कुनैपनि सहमति र समझदारी पालना गर्दैन । प्रतिपक्षमा पुगेपछि नैतीकताको कुरा झिक्छ’ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सत्ताबाट च्यूत भएपछि कांग्रेसले अर्घेल्याई गरिरहेको आरोप लगाए । उनले कांग्रेस सत्ताबिना पानी बिनाको माछाजस्तै भट्याक भट्याक गरिरहेको दाबी गरे ।

‘कांग्रेसमा सत्ता, सत्ता र सत्ता भन्दा केहीमा ध्यान छैन । कांग्रेसले अरूको इज्जतमाथि बाहिर बाहिर घुमाई घुमाई हमला गर्छ । हामी बेलमा हुँदा हुँदै दर्जनौँ पटक प्रस्तावहरू पारित भएका छन् । तर, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमलाई पनि रोक्न लाग्नु भयो । त्यसकारण उहाँहरूमा सहमति, सहकार्य, स्थिरता विकास तिर रुचि छैन ।’ उनले भने ।

ओलीले सहकारी प्रकरणको छानबीन गर्न संसदीय छानबिन समिति बनाउन एमालेलाई कुनैपनि आपत्ति नरहेको बताउँदै व्यक्ति केन्द्रीत समिति बन्न नसक्ने बताए । ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह समेत गरेका छन् ।

उनले भने, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।” अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्