Logo

कैलाश सिरोहियामाथि प्रतिशोध साँधेर गृहमन्त्रीले अनैतिक हमला गरेको कांग्रेस नेता बजगाईँको आरोप (भिडिओसहित)



काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि पक्राउ पुर्जी जारी गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) कान्तिपुरका मालिक सिरोहियाको पक्राउ पुर्जीविरुद्धमा ऐक्यवद्धता जनाउन कान्तिपुर मुख्यालय पुगेका बजगाईँले गृहमन्त्री लामिछानेले प्रतिशोध साँधेर अनैतिक हमला गरेको बताए ।

गृहमन्त्री लामिछानेको दोहोरो नागरिकता, पासपोर्ट र सहकारी ठगी प्रकरणलाई कान्तिपुरले बाहिर ल्याएकै कारण सिरोहियामाथि प्रतिशोध साँधिएको उनको निश्कर्ष छ । उनले भने, ‘गृहमन्त्रीज्यूको नागरिकता, पासपोर्ट अथवा सहकारीको काण्डमा उहाँ अगाडि देखिनुभयो । उहाँ अनुसन्धान गर्ने निकायको प्रमुख कार्यकारी गृहमन्त्री भएको हिसाबले हामीले संसद्मा उठाएको र नेपालको स्वतन्त्र प्रेसले उठाएको चिजहरुलाई उहाँले व्यक्तिगत रुपमा प्रतिशोध साँधेर कान्तिपुरका प्रबन्ध निर्देशक र कान्तिपुर मिडियामाथि उहाँले अनैतिक हमला गर्नुभएको छ ।’

आफूहरुले सिरोहियाको नागरिकता अध्ययन गरेको समेत उनले बताए । सिरोहियाले प्रतिलिपि लिएको बजगाईँको दाबी छ । उनले आफूले पनि प्रतिलिपि लिएको भन्दै गृहमन्त्री लामिछानेलाई च्यालेन्ज गरे । ‘हामीले उहाँको नागरिकताको बारेमा पनि अलिकति अध्ययन गर्यौं । उहाँको दुईवटा नागरिकता नै होईन । प्रतिलिपि भनिएको छ । प्रतिलिपि त मैले पनि लिएको छु । मिति फरक भयो त सरकार अथवा सीडीओ कार्यालयको कुनै त्रुटी होला,’– उनले भने ।

नेता बजगाईँले गृहमन्त्री लामिछानेको अनैतिक हमलाको विरुद्धमा र स्वतन्त्र प्रेसको समर्थनमा आफूहरु ऐक्यैवद्धता जनाउन आएको बताए ।



प्रतिक्रिया दिनुहोस्