Logo

लोकतन्त्रको मसिहा ठान्ने कांग्रेसले लोकतान्त्रिक अभ्यासलाई दबाउने कोशिस गर्योः माओवादी नेता कार्की



काठमाडौं, ८ जेठ । सहकारी ठगी प्रकरण र संसद् अवरोधको विषय पछिल्लो समय निकै पेचिलो बनिरहेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नै सहकारी ठगी प्रकरणमा संलग्न रहेको दाबी गर्दै नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग राखेर संसद् अवरोध गरिरहेको छ । कांग्रेसको अवरोधका बावजुद सभामुखले सत्तापक्षको इसारामा पेलेर संसद्का काम कारबाहीलाई अगाडि बढाइरहेका छन् । त्यस्तै, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि पक्राउ पुर्जी जारी भएको विषयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको थप आलोचना भइरहेको छ ।

यिनै विभिन्न विषयमा रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम आयोजना गरेर दलका युवा नेताहरुको धारणा लिएको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइमस् टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले समाचार लेखिएकै भरमा कसैलाई धरपकड गर्ने, पक्राउ गर्नेजस्ता विषय सह्य नहुने बताए । गलत गरेको भए कसैलाई बाँकी राख्न नहुने बताउँदै पत्रकार धमलाले समाचार लेखेकै भरमा पूर्वाग्रही भएर कसैलाई पनि पक्राउ पुर्जी जारी गरिए सञ्चार जगतले त्यसको प्रतिवाद गर्ने चेतावनी दिए । राज्य यसरी अगाडि बढेको खण्डमा सञ्चारकर्मीहरु शसक्त ढंगले संघर्षमा उत्रिने उनको चेतावनी छ । ‘कसैलाई समाचार लेखेकै भरमा गिरफ्तार गरिन्छ भने हामी त्यसलाई मान्दैनौं, सह्य हुने छैन । मेरो पक्षमा समाचार लेखिएन भनेर गिरफ्तार गर्छन् भने हामी त्यसको विरुद्धमा उभिन तयार छौं,’– पत्रकार धमलाले भने ।

धमलाले नेपाली पत्रकारिता जगत पञ्चायत कालदेखि आजसम्म सुरक्षित नगरेकोसमेत स्मरण गराए । उनले नेताहरुले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने र आलोचनालाई सहजरुपमा लिनुपर्ने बताए । साथै, सहकारी ठगी प्रकरणमा सरकार गम्भीर हुनुपर्ने र पीडितले बचत फिर्ता पाउनुपर्ने कुरा सुनिश्चित हुनुपर्ने उनले बताए ।

नेकपा (माओवादी केन्द्र) नेता एवं अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले संसद् अवरोध गरेर संसदीय प्रणालीको अध्येता भन्ने नेपाली कांग्रेसले लोकतान्त्रिक अभ्यासलाई दवाउने कोशिस गरेको टिप्पणी गरे । ‘अहिले संसद् अवरुद्ध भइराखेको छ । जुन पार्टी यो देशको संसदीय अभ्यासमा आफूलाई अब्बल ठान्छ, आफूलाई संसदीय प्रणालीको अध्येता भन्छ र लोकतन्त्रको मसिहा ठान्छ, त्यसले नै अहिले लोकतान्त्रिक अभ्यासलाई दबाउने कोशिस गरेको छ,’– उनले भने ।

साथै, अहिले गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर संसदीय समिति बन्नुपर्छ भन्ने कांग्रेसको माग स्मरण गराउँदै उनले आफूहरुले विगतमा भएका सबै प्रकारका भ्रष्टाचारको छानविन हुनुपर्ने माग गरेको बताए । उनले संसदीय समिति बनाउनुपर्ने कुरामा सरकार तयार रहेको र सहकारी पीडितले न्याय पाउनुपर्ने बताए ।

उनले भने, ‘गृहमन्त्रीको नाम कोड गरेर पनि समिति बनाउनेबारे छलफल भइरहेको छ । कांग्रेसले छानविनको विषय व्यक्तिमाथि लक्षित गरेको छ । हिजो विगतमा भएको सबै गलत कामको छानविन हुनुपर्छ । गृहमन्त्रीले सदनमा उठाएका कुराहरुको पनि छानविन हुनुपर्छ । संसदीय समिति बनाउने कुरामा सरकार तयार छ । संसदीय समिति बन्नुपर्छ । पीडित व्यक्तिहरुले न्याय पाउनुपर्छ । सबैलाई नियन्त्रणमा लिएर छानविन गर्नुपर्छ भन्ने माग हाम्रो पनि हो ।’

प्रधानमन्त्री प्रचण्डले सुशासनका लागि आफूमाथि पनि छानविन गर्न आवश्यक भए तयार रहेको बताइरहँदा गृहमन्त्रीमाथि छानविन हुन हुँदैन भन्नु उपयुक्त नहुने उनको भनाइ छ । ‘छानविन गर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले पनि तयार छौं भन्नुभएको छ । प्रक्रियामा आएका सबैमाथि छानविन हुन्छ । पहिला कांग्रेसले झिकेको बखेडा अन्त्य हुनुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot