Logo

गृहमन्त्रीको छवि स्वच्छ र कञ्चन नहुँदा सरकारमाथि अधिनायकवादको लेवल लाग्योः पूर्वमन्त्री किराती (भिडिओसहित)



काठमाडौं, १० जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको छवि स्वच्छ र कञ्चन नभएको कारण कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा सरकारमाथि अधिनायकवादको लेवल लागेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपप्रधान एवं गृहमन्त्रीको राजनीतिक जीवन स्वच्छ नभएकै कारण अहिले सरकारले अनेक आलोचना खेप्नुपरेको बताएका हुन् ।

‘अहिलेका उपप्रधान तथा गृहमन्त्री स्वच्छ र कञ्चन छविको भएको भए यो हदसम्म अधिनायकवादको लेवल पनि लाग्दैन थियो । उहाँ स्वयं निर्विवादित हुन सक्नुभएन । उहाँको राजनीतिक जीवन जब सुरु भयो, तब उहाँको छवि सफा हुनसकेन,’– पूर्वमन्त्री किरातीले भने ।

पूर्वमन्त्री किरातीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि लागेको आरोप सत्य हो भने उनी कारबाहीको दायरामा आउनुपर्ने बताए । अहिले सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरिएको हो कि भनेर शंका गर्न सकिने आधारहरु थुप्रै रहेको उनले बताए । उनले ‘स्याल कराउनु र सिङ्गारी हराउनु’ को संयोगमात्रै होईन’ कि भन्ने शंका गर्न सकिने ठाउँ रहेको बताए । साथै, सिरोहियालाई पक्राउ गर्दा राज्यले गलत शैली अबलम्बन गरेको उनको दाबी छ ।

‘अहिले पनि कान्तिपुर पत्रिकामार्फत गृहमन्त्रीको सहकारीसँग सम्बन्धित कुराहरु उठाइदिइसकेपछि यहीबेला छुँदाखेरी बढी वातावरण बिग्रिदै गएको हो । देशको सबैभन्दा ठूलो व्यक्ति, गृहमन्त्री र हामीसबै कानुनको मुनि हुनुपर्छ ।’ उनले भने, ‘यसो गर्दाखेरी कान्तिपुर मिडिया ग्रुपको अध्यक्ष दोषी हुनुहुन्छ भने कारबाहीको दायरामा आउनैपर्छ । त्यतिको व्यक्तित्वलाई त्यो तहसम्म सरकारको तर्फबाट त्यो शैली प्रयोग गर्नुहुन्थेन भन्ने कुरा सबैलाई लागेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई लागेको आरोप सत्य हो भने उहाँ कारबारहीको दायरामा आउनैपर्छ । तर, समाचार लेखेकै भरमा हो भने त्यो ठीक भएन । शैली पनि ठीक भएन । ‘स्याल कराउनु र सिङ्गारी हराउनुको संयोगमात्रै होईन’ कि भन्ने शंकाको सुविधा छ ।’

साथै, प्रतिशोध नेपालको संस्कृतिको रुपमा विकास भएको उनको टिप्पणी छ । उनले यहाँ ठूला मान्छेले साना मान्छेसँग प्रतिशोध साँध्ने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot