Logo

गगनमाथि गम्भीर आरोप लागेपछि कांग्रेस नेताको प्रश्नः ‘पूर्व अमेरिकन नागरिकले ठूला कुरा गर्ने ?’



काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो नैतिक बलको ख्याल गरेर कांग्रेसका नेतामाथि प्रश्न उठाउन आग्रह गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेले आफूसँग मिडियामा काम गर्दा रहेका फ्यान फलोइङका आधारमा कांग्रेस नेताहरुमाथि प्रश्न उठाइएको बताएका हुन् । उनले उपप्रधान एवं गृहमन्त्री लामिछाने अमेरिकामा अनेक धन्दामा फसेर पुनः नेपाल फर्किएको टिप्पणी गरे । उनले लामिछानेले अमेरिकामा बैंकहरु ठगेर नेपाल फर्किएको समेत बताए । नेता शिवाकोटीले कांग्रेस महामन्त्री गगन थापामाथि गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएको भन्दै आपत्ति जनाए । उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पूर्व अमेरिकी नागरिकको संज्ञा दिए ।

‘एउटा देशको नागरिकता बोकेर अर्को देशमा गएर फेरि त्यहाँबाट फर्केर आएको अमेरिकी पूर्व नागरिकले आएर ठूलो कुरा गर्ने ? अरु कसैलाई भन्नका लागि तपाईँसँग पहिला नैतिकरुपमा बल हुनुपर्छ । नैतिक आधार हुनुपर्छ । हिजोको दिनमा मिडियामा काम गरेको आधारमा प्यान, फलोइङ छ भन्ने आधारमा तिनले मलाई सपोर्ट गरिहाल्छन्, मैले कुरा उठाइसकेपछि अरुले ठोकिहाल्छन् भन्ने आधारमा सोचिरहनु भएको छ ।’ उनले भने, ‘यो देशको नागरिकता त्यागेर अमेरिका पलायन हुने, अमेरिकामा अनेक धन्दामा फसिसकेपछि त्यहाँबाट कतिवटा बैंकको पैसा नतिरेर भागेको भन्ने आरोप पनि छ । यहाँ आएर नेपाली जनता सोझासाझा छन् भनेर गफ दिएर एक लाख डलर महिनाको खान्थे भनेर झुठा कुरा गरेर, आज सब उनकै साथीभाइहरुले भण्डाफोर गरिरहेका छन् ।’

साथै, कांग्रेसले आगमी १३ गते गर्न लागेको प्रदर्शनबारे बोल्दै उनले त्यसलाई आन्दोलनको संज्ञा दिन नहुने बताए । उनले आन्दोलन २०४६ र २०६२÷०६३ सालको संघर्षलाई मात्रै भन्न सकिने बताए । नेता शिवाकोटीले कांग्रेसले ‘फिस्टेचारा’ का लागि आन्दोलन नगर्ने टिप्पणी गरे ।

‘सडकदेखि सदनसम्म सबै स्टेकहोल्डरहरुलाई राखेर विरोधका कार्यक्रमहरु ल्याउने भनेको हो । आन्दोलन भनेको होईन । सडक संघर्ष चाहीँ हो, त्यसलाई आन्दोलनको नाम दिन हुँदैन ।’ उनले भने, ‘एउटा रवि लामिछानेको लागि आन्दोलन भनेको ठूलो कुरा हो । आन्दोलन भनेको ०४६ सालको, २०६२÷०६३ को लाई भन्न सकिन्छ । रविजस्तो फिस्टेचाराका लागि आन्दोलन भनेको ठूलो कुरा हो ।’

साथै, उपप्रधान एवं गृहमन्त्री लामिछानेले राहदानी प्रकरणमा दवाउन नेताहरुको घर–घर धाएको उनको आरोप छ । उनले आगामी जेठ २९ उक्त राहदानी प्रकरणमा पेशी रहेको स्मरण गराउँदै अब सहज नहुने संकेत गरे । ‘उहाँको दोहोरो पासपोर्टको पेशी २९ गते छ । आजको दिनसम्म त रवि लामिछानेजीले कार्पेटमुनि छोप्दै हिँड्नुभएको थियो । दलका नेताहरुको घर–घर धाएर मेरो यो विषय नउठाइदेऊ भन्दै हिँड्नु भएको थियो । अब त्यस्तै होला त ?’ प्रश्न गर्दै उनले भने ।



प्रतिक्रिया दिनुहोस्