Logo

सन्दीपलाई अमेरिका पठाउन खेलकुदमन्त्री श्रेष्ठको पहल, सहजीकरण गर्न अनुरोध गर्दै पठाए परराष्ट्रलाई पत्र



काठमाडौं,१० जेठ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेलाई अमेरिका पठाउन युवा तथा खेलकुद मन्त्रालयले पहल गरेको छ । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लामिछानेलाई विश्वकप खेल्न पठाउन पहल गरिरहेका छन् ।

जसका लागि आज युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँग छलफल भएको छ । सोपश्चात् मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको श्रेष्ठको सचिवालयले जानकारी दियो ।

यता, खेलकुदमन्त्री श्रेष्ठले सन्दीपको भिसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको बताएका छन्। उनले अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्ने बताए । मन्त्रालयका अनुसार अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा कामकारबाही अगाडि बढाउनेछ । लामिछानेले आफूलाई टी–ट्वान्टी विश्वकप खेल्न जाने भिसा अमेरिकाले नदिएको बुधबार जानकारी दिएका थिए । अमेरिकी दूतावासले सो कुरा स्वीकार गर्दै भिजा प्रक्रिया गोप्य हुने भन्दै थप जानकारी दिन अस्वीकार गरेको छ ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै सन्दीपलाई विश्वकप क्रिकेट खेल्न जाने बाटो खुलेको थियो । तर, अमेरिकाले भीसा दिन अस्वीकार गरेको थियो ।

नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन्। उच्च अदालत पाटनबाट गत बुधबार सफाइ दिएसँगै लामिछानेको विश्वकप खेल्ने बाटो खुलेको हो।

नेपालले जुन ४ मा टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ। समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot