Logo

सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद् चल्न दिँदैनौंः धबल शमशेर



काठमाडौं, ११ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धबल शमशेर जबराले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा छानविन समिति नबनेसम्म विपक्षी बेञ्चमा बसेर सरकारका विरुद्ध गर्ने बताएका हुन् ।

‘हामी अपोजिसनमा छौं । विरोधी खेमामा बसेका छौं । सरकारले विपक्षीलाई पेल्दै लगेको खण्डमा हामी मजबुदीका साथ विपक्षी बेन्चमा बसेर सरकारको पेलेर लग्ने नीतिलाई विरोध गर्छौं । हामी छलफलमा भाग लिने होईन, जबसम्म सहकारी प्रकरणको संसदीय समिति बन्दैन, जबसम्म छानविन हुँदैन हामी संसद् चलाउन दिने पक्षमा छँदैछैनौं,’– उनले भने ।

लाखौं जनताको मेहनत, पसिनाले कमाएको पैसा ठगहरुले खाइसकेको बेलामा र सदनमै बसेका नेता र मन्त्रीहरुले जनताको पैसा ठगेर आएको अवस्थामा सदन चल्न नसक्ने उनको भनाइ छ । यदि यस्तो अवस्थामा सदन चल्न दिएको खण्डमा जनताले पश्न उठाउने उनले बताए ।

सदन चलाउनका लागि तुरुन्तै समिति बनाएर छानविन गर्नुपर्ने उनको भनाइ छ । उनले छानविनबाट दोषी जोसुकै देखिए पनि कानुनी कारबाही गर्नुपर्ने बताए । उनले गृहमन्त्रीको विषयमा छरपष्ट भएको विषयलाई नजर अन्दाज गर्न नमिल्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot