Logo

ओली-लामिछानेलक्षित कांग्रेस महामन्त्री शर्माको टिप्पणीः सहकारी बन्धु गठबन्धनको शैली ठीक देखिएन



काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी र गिरीबन्धु टि स्टेटको कुरा नउठाउने सहमति भएको बताएका छन् । आज (शुक्रबार) संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई एमालेले र एमाले अध्यक्ष केपी शर्मा ओली मुछिएको गिरीबन्धु टि स्टेट प्रकरणमा रास्वपाले साथ दिने सहमति भएको दाबी गरेका हुन् । उनले वर्तमान सत्ता समीकरणलाई ‘सहकारी बन्धु गठबन्धन’ नामाकरण गरे ।

‘अहिले यहाँ के देखियो भने सहकारी ठगी प्रकरणमा नेकपा (एमाले) ले साथ दिने, गिरीबन्धु प्रकरणमा रास्वपाले साथ दिने । त्यसैले सहकारी बन्धु गठबन्धनमा उहाँहरु देखिनु भएको छ,’– उनले भने ।

साथै, एमाले अध्यक्ष ओलीले केही दिनअघि अब संसद्मा कांग्रेसलाई बोल्न दिइने छैन भनेर उद्घोष गरेको उनले बताए । एमाले अध्यक्ष ओलीको सोही उद्घोष बमोजिम सभामुख देवराज घिमिरेले आज कांग्रेसलाई संसद्मा बोल्न नदिएको उनको भनाइ छ । महामन्त्री शर्माले भने, ‘सम्माननीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीजीले केही दिनअघि के भन्नुभएको थियो भने, अब कांग्रेसलाई बोल्न दिइने छैन । कांग्रेसले धेरै बकवास गर्यो उहाँले भनिरहनु भएको थियो । अब यो सहकारी बन्धु गठबन्धन भनौं म, सहकारी बन्धु गठबन्धनको शैली ठीक देखिएन ।’

प्रतिपक्षले संसद्मा बोल्दैगर्दा संवादलाई, संसदीय प्रक्रियालाई सहज बनाउँदैन कि भन्नजस्तो आभास सभामुखबाट व्यक्त भएको उनको भनाइ छ । आज पूर्वनिर्धारित सेड्ष्यूलबमोजिम प्रतिपक्षको तर्फबाट आफू बल्ने तयारीमा रहेपछि सभामुखले बोल्न नदिएको बताए ।

सहकारी ठगी प्रकरणमा कांग्रेसले उपप्रधान एवं गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नुपर्ने शर्तलाई कायमै राखेको उनको भनाइ छ । महामन्त्री शर्माले समिति बनाउने सहमति भएपनि डाइग्नोशिस कसलाई गर्ने भन्ने प्रष्ट नभइसकेको बताए । ‘प्रतिपक्षले सदनमा उठाउन पर्ने थुप्रै विषय थिए । त्यसमध्येकै एउटा विषय हो सहकारी ठगी प्रकरण । सहकारी ठगी सम्बन्धी विषयमा सन्दर्भमा लामो कुरा केही पनि छैन । छानविन समिति बनाउने सहमति भएको छ । छानविन समिति बनाउँदै गर्दा डाइग्नोसिस गर्ने हो भने कसमाथि डाइग्नोसिस गर्ने ? विरामी को लेख्नुपर्छ ।’ उनले भने, ‘अस्पतालमा आएका सबै विरामीको अप्रेशन हुँदैन । कसैलाई भिटामिन दिएर पठाइन्छ, कसैलाई एन्टिबोयोटिक दिइन्छ, कसैलाई अप्रेशन गरिन्छ । त्यो अप्रेशन कसको गर्ने भन्ने सन्दर्भमा डाइग्नोसिस गर्ने कागजमा नामसम्म लेख्न तयार नभएपछि सहकारी बन्नु र नबन्नुको अर्थ हुँदैन । अहिले यहाँ के देखियो भने सहकारी ठगी प्रकरणमा नेकपा (एमाले) ले साथ दिने, गिरीबन्धु प्रकरणमा रास्वपाले साथ दिने । त्यसैले सहकारी बन्धु गठबन्धनमा उहाँहरु देखिनु भएको छ ।’ File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot